स्थानीय चुनावले संविधान लेखनमा अवरोध पुग्दैन : रिजाल

काठमाण्डु टुडे २०७० फागुन २८ गते १०:२१ मा प्रकाशित

minendra-rijalचितवन, २८ फागुन – सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले सरकारले साझा सहमतिको न्यूनतम कार्यक्रम ल्याएलगत्तै स्थानीय निकायको निर्वाचनको मिति तय गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रिजालले भोलिसम्ममा न्यूनतम कार्यक्रम ल्याउने तयारी भइरहेको बताए ।

स्थानीय निकायको निर्वाचनमा सबैलाई समावेश गर्न असन्तुष्ट दलहरुसँग छलफल भइरहेको पनि उनको भनाइ थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री रिजालले निर्वाचनमा जान नमान्नेलाई फकाउने काम भइरहेको बताए ।

तोकिएको समयभित्र संविधान बन्ने बताउँदै उनले पहिलो संविधानसभाको निर्वाचनमा माओवादी सभासद्को सङ्ख्या एक तिहाइभन्दा बढी भएकाले संविधान बन्न नसकेको बताए ।

‘अहिले सरकारसँग बहुमत छ । स्थिर सरकार भएकाले संविधान बन्छ । माओवादीले आफूले भनेअनुरुप नभए संविधान बन्न नदिने निषेधको राजनीति गरेकाले त्यो बेला बन्न सकेन । अहिले त्यो अवस्था छैन ।’ रिजाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us