चोरेर ताडी पिउँदा ११ जना सिकिस्त बिरामी

काठमाण्डु टुडे २०७० फागुन २८ गते १०:१७ मा प्रकाशित

महोत्तरी, २८ फागुन – महोत्तरीको फुल्हट्टा परिकौली गाविसमा बुधबार विषादीयुक्त ताडी पिउँदा ११ जना सिकिस्त बिरामी परेका छन् ।

बिरामी हुनेमा परिकौली फुल्हट्टा गाविस–९ बस्ने १६ वर्षीय  विजय महतो, २६ वर्षीया कोशिला देवी, ३० वर्षीया गीता चौधरी,  १४ वर्षीय उमेश चौधरी, नौ वर्षीय कमलेश चौधरी, पाँच वर्षीय राहुल मुखिया, १८ वर्षीय अवधेशकुमार मुखिया, ३० वर्षीय जोगिन्द्र मुखिया, १५ वर्षीय राजेश मुखिया, दुई वर्षीय राकेश मुखिया र १० वर्षीया रीना मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिहान गाउँभन्दा नजिकै वनमा रहेको एक खजुरको बोटमा ताडी चुहाउन लगाइएको भाँडोबाट उनीहरुले चोरेर ताडी पिएको प्रहरी निरीक्षक एकवाल हवाडीले बताए ।

पटकपटक उनीहरुले ताडी चोरेर खाइदिने गरेकाले ताडी चुहाउनेले सो भाँडोमा विषादी राखिदिएको बताइएको छ । सोही विषादीयुक्त ताडी चोरेर खाएपछि उनीहरु सिकिस्त बनेका हुन् ।

विषादीयुक्त ताडी खाएर उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा आएका ११ जना महिला, पुरुष तथा बालबालिका यहाँ निको हुन नसक्ने देखेर प्राथमिक उपचार गरी थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको जिल्ला अस्पतालमा उपचारमा संलग्न हुनुभएका चिकित्सक साकेश कर्णले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us