थप दाइजो माग्नेसँग सम्बन्ध विच्छेद

काठमाण्डु टुडे २०७० फागुन २८ गते ९:०१ मा प्रकाशित

राजविराज, २८ फागुन – सप्तरीको कञ्चनपुर गाविस–७ की २९ वर्षीया किरणकुमारी गुप्ताले थप दाइजो माग्ने पति ३९ वर्षीय नरेशप्रसाद गुप्ता रौनियारसँग सम्बन्ध विच्छेद गरेकी छिन् ।

नरेशले किरणलाई अंशबापत सात लाख ५१ हजार बुझाए पछि मिलापत्रमा दुवैबीच सम्बन्ध विच्छेद भएको अदालतले जानकारी दिएको छ ।

आरोपित पतिसहित घरपरिवारका सदस्यले थप दाइजो माग्दै २०६९ भदौ ११ गतेदेखि घरनिकाला गरेको भन्दै पीडितले २०६९ असोज ७ गते अंशबन्डा मुद्दा दर्ता गरेकी थिइन् ।

यसैगरी, दाइजोबापत आरोपितले लिएको नगद र गरगहनासहित १४ लाख भराई पाउन माग गर्दै किरणले अदालतमा गत सोमबार निवेदन दिएकी थिइन् ।

आरोपितसँग २०६७ जेठ १० गते सामाजिक परम्पराअनुसार विवाह गरेकी पीडित घरनिकालापछि भारत विहारको सुपौल जिल्लाको रतनपुरास्थित माइतको शरणमा बसेकी थिइन् ।

यसैबीच, अन्तर्जातीय प्रेमविवाह गरेकी सप्तरीकी एक थारु महिलाले उनका पति २३ वर्षीय सकलदेव राम चमारसँग नाता कायमका लागि अदालतमा मुद्दा दर्ता गरेका छन् ।

मधुपट्टी गाविस–३ की २१ वर्षीया बन्दनादेवी चौधरी रामले नाबालक छोरा र आफ्नो हकमा समेत नाता कायम मुद्दा दर्ता गरेको अदालतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us