बाह्रवर्षे पिण्डेश्वर मेला सफल पार्न सरकारको आग्रह

काठमाण्डु टुडे २०७० फागुन २७ गते १३:३६ मा प्रकाशित

काठमाण्डु, २७ फागुन – सरकारले पूर्वाञ्चलको वराह क्षेत्रको चतराधाममा आगामी चैत १७ देखि वैशाख १९ गतेसम्म आयोजना हुने पूर्ण महाकुम्भ मेलालाई सफल पार्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको अध्यक्षतामा मंगलबार भएको बैठकमा मेला सफल पार्न सरकारले मेला मूल आयोजक समितिलाई ५० लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । सो मेलामा कम्तीमा एक करोड तीर्थयात्री सहभागी हुने विश्वास गरिएको छ ।

मेलामा बढीभन्दा बढी तीर्थयात्रीलाई सहभागी गराउन ‘बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा सहभागी बनौँ, आफ्नो देशको माटो, धर्म र संस्कृतिलाई विश्व सामु चिनाऔँ’ भन्ने अभियानसहित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

मेलाले राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, सहिष्णुता र सद्भावको संरक्षण एवम् सम्बद्र्धन गर्दै आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न र नेपाल एवम् नेपालको विशेष पहिचान बन्ने सचिव बाँस्कोटाले बताए ।

बैठकमा दिइएको जानकारीअनुसार धरान–चतरा सडक, पकली –चतरा सडक र झुम्का–चतरा नहर सडकको स्तरोन्नतिको काम भइरहेको छ । यसैगरी चतराधाममा पाल राख्न जमिन सम्याउने र बसपार्क निर्माण गर्ने काम भइरहेको छ ।

यसैगरी मेला अवधिभर विद्युत्भार कटौती नहुने व्यवस्था, पिउने पानीको पर्याप्त व्यवस्था गर्नुका साथै सार्वजनिक शौचालय निर्माणको काम पनि भइरहेको सचिव बाँस्कोटाले जानकारी दिए ।

प्रत्येक बाह्र वर्षमा लाग्ने महाकुम्भ मेला यसअघि २०५९ सालमा आयोजना गरिएको थियो ।  विसं २०६३ मा अर्ध–कुम्भ मेलाको आयोजना सोही स्थानमा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us