आर्थिक विकासलाई प्रथमिकता : प्रधानमन्त्री कोइराला

काठमाण्डु टुडे २०७० फागुन २७ गते १३:०२ मा प्रकाशित

sushil_koiralaकाठमाण्डु, २७ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले मुलुकले अवलम्बन गरेको उदार अर्थनीतिलाई वर्तमान सरकारले निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्रकुमार बस्न्यात नेतृत्वको टोलीसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले आर्थिक विकासका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यात नेतृत्वको परिसङ्घ पदाधिकारीसँग प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीले शान्ति स्थापना र लोकतन्त्रको संस्थागत विकास नभएका कारण देशले आर्थिक समृद्धि हासिल गर्न नसकेको उल्लेख गरे ।

देशको बृहत्तर हित र आर्थिक उन्नयनका खातिर जस्तोसुकै निर्णय गर्नबाट सरकार पछि हट्दैन भन्दै प्रधानमन्त्री कोइरालाले सरकारको प्रमुख जिम्मेवारी संविधान बनाउनु भएकाले त्यसैतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए ।

‘यो सरकारको प्रमुख जिम्मेवारी एक वर्षभित्रमा संविधान बनाउनु हो, साथै शान्ति, सुव्यवस्था र स्थायित्व कायम गरी मुलुकमा आर्थिक एवम् लगानी विस्तारको सुनिश्चितता गर्नु दायित्व भएकाले यसमा सरकार दृढ छ ।

यसमा निजी क्षेत्रलाई ढुक्क हुन आग्रह गर्छु,’ निजी क्षेत्रसँग हातेमालो गर्दै लगानीको वातावरण तथा औद्योगिक विकासका लागि सरकार हरदम तयार रहेको स्पष्ट गर्दै उनले भने ।

प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै अध्यक्ष बस्न्यातले निजी क्षेत्रलाई विश्वासमा लिन तथा लगानीको वातावरणको लागि शान्ति सुव्यवस्था, असल शासन र निजी क्षेत्रले उठाउँदै आएका विषयलाई सरकारले लागू गरेमा मात्र आर्थिक एवम् औद्योगिक क्षेत्रले विकासको गति लिने बताए ।

संविधानसभाको निर्णयबाट आम जनताले नयाँ संविधान र आर्थिक समृद्धिको मार्ग चित्र निर्माण गर्ने अभिभारा सुम्पिएका स्मरण गराउँदै मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गर्ने कार्यक्रमलाई प्राथमिकता दिन उनले आग्रह गरे । निजी क्षेत्रले सरकारलाई सक्दो सहयोग गर्ने बस्न्यातको दृढता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us