दुई सातादेखि २४० घरधुरी अन्धकारमा

काठमाण्डु टुडे २०७० फागुन २७ गते १०:२३ मा प्रकाशित

electryतेह्रथुम, २७ फागुन – टर्वाइनमा खराबी आएपछि आठ्ठराई ह्वाकूको चियाखोला लघुजलविद्युत् परियोजनामा दुई सातादेखि विद्युत् अवरुद्ध भएको छ ।

विद्युत् उत्पादन नहुँदा ह्वाकू १, २ र ४ का २४० घरधुरी अन्धकारमा परेका छन् । टर्वाइनको डायर जलेपछि फागुन १२ गतेदेखि विद्युत् उत्पादन अवरुद्ध भएको चियाखोला लघुजलविद्युत् परियोजनाका सदस्य बलमायाँ गुरुङले बताईन् ।

विद्युत् अवरुद्ध हुँदा आसन्न एसएलसी परीक्षाको तयारीमा रहेका विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन् । उपभोक्ता समितिसँग पैसा अभाव भएकाले नयाँ डायर खरिदका लागि समस्या भइरहेको गुरुङको भनाइ छ ।

पैसा जुटे पनि डायर खरिदका लागि बुटवल पुग्नुपर्ने भएकाले विद्युत् सुचारु गर्न अझै केही दिन लाग्ने परियोजनाले जनाएको छ ।

२० किलोवाट क्षमताको उक्त लघुजलविद्युत् जिविस/ग्रामीण ऊर्जा विकास कार्यक्रमको सहयोग र उपभोक्ताहरुको लगानी तथा जनश्रमदानमा छ वर्षअघि निर्माण भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us