बाह्र हजार स्वास्थ्यकर्मी पदस्थापनाको माग

काठमाण्डु टुडे २०७० फागुन २७ गते ८:२६ मा प्रकाशित

विराटनगर, २७ फागुन – निजामती स्वास्थ्यकर्मीहरुले बढुवाअनुसार आफूहरुको पदस्थापन हुनुपर्ने माग गरेका छन् । विराटनगरमा मंगलबार पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुले उठाएका २३ बुँदे माग स्वास्थ्य मन्त्रालयबाट सम्बोधन नगरेमा चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा स्तरवृद्धि भएर अलपत्र भएका सम्पूर्ण स्वास्थ्यकर्मीको अविलम्ब पदस्थापन हुनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई अध्ययन, तालिमको अनिवार्य व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य सेवा ऐनको दफा ८(१)लाई संशोधन गरी खुल्ला÷आन्तरिक तथा समायोजन प्रक्रियालाई सहजरुपमा पदपूर्ति तथा पदस्थापन मिलाउनु पर्ने, जुन तहबाट स्तरवृद्धि भएको सोही तहको काम गर्नुपर्ने भन्ने दफा हटाउनु पर्ने आदि माग रहेका छन् ।

नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय अध्यक्ष भागिरथ बानियाँले जनतालाई सेवाबाट वञ्चित नहुने गरी मन्त्रालयको राष्ट्रियस्तरको कार्यक्रमको आफूहरुले बहिष्कार गरी आन्दोलन गर्ने बताए ।

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका केन्द्रीय अध्यक्ष बालकिशोरप्रसाद यादवले निजामती स्वास्थ्यकर्मी कर्मचारी पद बेगर कार्य गरिरहेकाले अविलम्ब उनीहरुको पदस्थापन हुनुपर्ने माग गरे ।

पत्रकार सम्मेलनमा निजामती स्वास्थ्यकर्मीका विभिन्न सात सङ्घ सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको थियो । स्वास्थ्यकर्मीले यही फागुन र चैत महिनाभित्रमा जनकपुर, काठमाण्डु, धनगढी, नेपालगन्ज, बुटवल तथा पोखरामा क्षेत्रीयस्तरको भेलाको आयोजना गर्नेसमेत जानकारी दिइयो ।

निजामतीमा २७ हजार स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us