
सल्यान, २७ फागुन । सल्यानको कुपिण्डेदह गाविसका श्रीमान्ले श्रीमती र दुई छोरालाई जिउँदै जलाएर मार्ने प्रयास गरेका छन् ।
कुपिण्डेदह–२ आगरनेटाका ३२ वर्षीय ठगे कवरले गएराति आफ्नै घरमा श्रीमती र छोराहरुलाई घरभित्र थुनेर आगो लगाएर मार्ने प्रयास गरेका हुन् ।
दुईवटी श्रीमती विवाह गरेका कवरले घरमा आगो लगाइसकेपछि बाहिरबाट ढोका लगाएर भागेका थिए । श्रीमान्ले घरमा आगो लगाएपछि ३४ वर्षीया श्रीमती सुनिता कवरले घरमा आगो लगाएको थाहा पाएपछि कोठाको ढोका फोडेर बाहिर निस्किएकी थिइन् ।
‘राति ९ बजे मदिरा सेवन गरेर आएछन्’– सुनिताले भनिन् ‘म निदाइसकेकी रहिछु कोठामा धुवाँ आएपछि आगो लगाएको थाहा पाएँ र ढोका फोडेर बाहिर आएँ ।’
अर्को कोठामा सुतिरहेका उनका छोराहरु १३ वर्षीय हरिहर कवर र ८ वर्षीय भूपेन्द्र कवरले आफू सुतेको कोठामा छानोबाट आगो खसेपछि थाहा पाएका थिए ।
त्यसपछि उनीहरु पनि बाहिर निस्केर ज्यान जोगाएको पीडित महिला सुनिताले बताइन् ।
श्रीमान्ले यसअघि पटकपटक कुटपिट गर्दै आएको पीडित सुनिताले बताइन् ।
आगोले जलेर घर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा भएका लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएका छन् ।
घटनापछि श्रीमान् ठगेलाई प्रहरीले पक्राउ गरेको छ ।