संविधानसभाको दिन गिन्ती सुरु भइसक्यो : मन्त्री खड्का

काठमाण्डु टुडे २०७० फागुन २६ गते १०:४२ मा प्रकाशित

रुकुम, २६ फागुन – सहरी विकास मन्त्री डा. नारायण खड्काले संविधानसभाको दिन गिन्ती सुरु भइसकेको बताएका छन् । जिल्ला विकास समिति रुकुमको सातौँ जिल्ला परिषद्को सोमबार उद्घाटन गर्दै मन्त्री खड्काले संविधानसभाको दिन गिन्ती सुरु भएको महिना दिन पुगेको बताए ।

अब जसरी भएपनि ११ महिनाभित्र संविधान जारी गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

संविधानसभा निर्वाचनताका सबै राजनीतिक दलले वर्ष दिनभित्रै नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जाहेर गरेको स्मरण गर्दै मन्त्री खड्काले राजनीतिक दलहरुले चाहेको खण्डमा समयमै संविधान जारी हुने दाबी गरे ।

संविधान जारी भएपछि विकास निर्माणका ढोका खुल्ने र राष्ट्र समृद्धितर्फ लम्कने बताउँदै उनले यस पटक पनि संविधान जारी नभए मुलुकको राष्ट्रियता नै खतरामा पर्नेतर्फ सबै राजनीतिक दल सचेत हुनुपर्ने बताए । अहिले नेपाल राजनीतिक परीक्षणको घडीमा रहेको भनाइ उनको भनाइ थियो ।

‘पटकपटक संविधानसभाको निर्वाचन गर्ने हामी फेरि पनि संविधान जारी गर्न नसक्ने अवस्थामा पुगे त्यो निकै लज्जास्पद काम हुनेछ,’ मन्त्री खड्काले भने ।
एक अर्को प्रसङ्गमा मन्त्री खड्काले एकीकृत माओवादी लगायतका दल पनि वर्तमान सरकारमा सहभागी हुनुपर्ने बताए ।

संविधान जारी नहुँदासम्म संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दल सरकारमा सहभागी हुनुपर्ने उनको भनाइ छ । सबै दलको सहभागितामा सरकार निर्माण गरी जति सक्दो चाँडो स्थानीय निकायको निर्वाचन गर्न लाग्नुपर्ने मन्त्री खड्काले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us