मन्त्रिमण्डल समावेशी भएन : नेत्री कोइराला

काठमाण्डु टुडे २०७० फागुन २६ गते ९:०५ मा प्रकाशित

Sujata-Koiralaविराटनगर, २६ फागुन – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् महिला नेत्री सुजाता कोइरालाले वर्तमान मन्त्रिमण्डल गठनमा समावेशीकरण नभएको बताएकी छिन् ।

प्रेस युनियन मोरङद्वारा सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले अब विस्तार हुने मन्त्रिमण्डलमा पिछडिएका जातजाति, मुस्लिम, महिला एवम् कर्णाली अञ्चलको उचित प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइन् ।

पूर्व उपप्रधानमन्त्री कोइरालाले स्थानीय जनप्रतिनिधि नभएकाले ग्रामीण क्षेत्रको विकास निर्माण कार्य ठप्प भएको बताउँदै सरकारले अविलम्ब चुनावको मिति घोषणा गर्नसमेत माग गरिन् ।

मन्त्रिमण्डलबाट मनोनित हुने २६ सभासद् सिटमा कर्णाली अञ्चल एवम् समाजका लब्धप्रतिष्ठित व्यक्तिलाई मनोनयन गर्नुपर्नेमा उनको जोड छ ।

जनताको आकाङ्क्षा एवम् मतअनुसार नेपाली काँग्रेस र एमाले मिलेर समयभित्र संविधान जारी गर्नका लागि आगाडि बढ्नु पर्ने उनले बताईन ।

जनतालाई परिवर्तनको अनुभूति गराउन देशमा सुशासन एवम् भ्रष्टाचारमुक्त कार्य गर्न वर्तमान सरकार अग्रसर हुनुपर्ने कोइरालाको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us