सरकार उदासीन रहेको अस्थायी शिक्षकको आरोप

काठमाण्डु टुडे २०७० फागुन २६ गते ७:०६ मा प्रकाशित

काठमाण्डु, २६ फागुन – विगतमा गरिएका सहमतिको कार्यान्वयनको माग राख्दै अस्थायी शिक्षकले ८३ दिन अघिदेखि रिले अनशन जारी राख्दै आएपनि सरकारले त्यसप्रति सुनुवाइ नगरेको शिक्षकले गुनासो गरेका छन् ।

काठमाण्डुको शान्ति बाटिकामा लामो समयसम्म जायज मागसहित अनशन जारी राखिए पनि त्यसप्रति सरकार उदासीन रहेको उनीहरुको गुनासो छ ।

प्रत्येक दिन तीन जनाको सङ्ख्यामा अहिलेसम्म २४९ जना अस्थायी शिक्षक अनशनमा सहभागी भइसकेको अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष निरेन्द्र कुँवरले जानकारी दिए ।

अस्थायी शिक्षकको मागका सम्बन्धमा सरकारले विभिन्न समयमा गरेका सहमति कार्यान्वन नहुँदा लगभग ९०० जना अस्थायी शिक्षक उमेर हदका कारण खाली हात सेवाबाट हटिसकेको उनले बताए ।

सरकारले ऐनमै निर्दिष्ट गरिएका विषयवस्तुको कार्यान्वयन गर्न नसकेका कारण समस्या झन् झन् बल्झिँदै गएको कुवँरको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us