सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै

काठमाण्डु टुडे २०७० फागुन २६ गते ६:२८ मा प्रकाशित

मुगु, २६ फागुन – जिल्ला सदरमुकाम गमगढीमा रहेका केही सरकारी कार्यालय र सार्वजनिक जग्गामा बजारमै बसोवास गर्ने केही व्यक्तिले आँखा गाड्दै अतिक्रमण गरिरहे पनि सम्बन्धित निकाय भने मौन देखिएका छन् ।

सदरमुकाम गमगढीको मूल बजारमा रहेको जिल्ला वन कार्यालय, नेपाल खाध्य संस्थान र पशुसेवा कार्यालयको जग्गामा सदरमुकाममै बस्ने केही व्यक्तिले घरटहरा र शौचालय बनाउँदै गरेका र बजारमै रहेको कालिका मालिका मन्दिरको जग्गासमेत आफ्नो नाममा गरिसकेका भएपनि सम्बन्धित निकाय मौन छन् ।

सबैभन्दा बढी जग्गा भएको सरकारी कार्यालयमध्ये जिल्ला वन कार्यालयको कित्ता नम्बर ९ मा रहेको ३ हजार ३६० वर्गमिटर क्षेत्रफलमध्ये उत्तरतिर मुख्य बजारतिर जोडिएको भागमा केही बजारवासीले आफ्नो मनोमानीले १३ वटा काठका घर टहरा बनाई व्यापार व्यवसाय सञ्चालन गरिआएका छन् ।

अतिक्रमण गरेको पाँच÷छ वर्ष बितिसक्दा पनि उनीहरुलाई हटाउन वन कार्यालयले कुनै देखाएको छैन । जिल्ला पशु कार्यालयको छ वटा कित्ताको आठ हजार ६८४ वर्गमिटर क्षेत्रफल जग्गामा पनि स्थानीयवासीले आफ्ना निजी शौचालय बनाई प्रयोग गर्दै आएका छन् ।

जिल्लाको प्रख्यात मानिने कालिका मालिका मन्दिरको फूलपाती बिर्सजन गरिने कित्ता नम्बर १५ मा रहेको १० वर्गमिटर रहेको जग्गा मन्दिरको नाममा नापी भएको भएपनि यो जग्गा अहिले श्रीनगर गाविस–३ निवासी चित्रबहादुर मल्लले आफ्नो नाममा गरिसकेका छन् ।

मन्दिरकै आसपासमा रहेको दुई हजार २४८ वर्ग मिटर जग्गामा समेत मन्दिर आसपासका व्यक्तिले आँखा गाड्न लागेका र केहीसँग अहिलेसम्म जग्गाको विषयमा विवादै रहेको मन्दिरका पुजारी पुन्नबहादुर चौलागार्इंले जानकारी दिए ।

उनका अनुसार बजारकै भूमिथानको ३१.२५ वर्गमिटर जग्गा समेत निजीकरण गरी खेती गर्ने जग्गा बनाइएको छ । सदरमुकामको बीचमा रहेका नेपाल खाद्य संस्थान र जिल्ला पशुसेवा कार्यालयका जग्गा पनि कार्यालय वरिपरि रहेका स्थानीयवासीले अतिक्रमण गरे पनि कार्यालय प्रमुखले व्यक्तिगत रिसइबी बढाउन नचाहँदा ती व्यक्तिहरु झन् प्रोसाहित भएको पशुसेवा कार्यालयका कर्मचारी बताउँछन् ।

सदरमुकामभित्र मात्र नभएर सदरमुकाम वरपर रहेका पाँच वर्ष पहिले हरियाली देखिने सामुदायिक वन फँडानी गरी निजी जग्गा बनाउने क्रम तीव्र हुँदा सदरमुकामकै शोभा हराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us