प्लसटु पढ्नेलाई मोटरसाइकल चलाउन रोक

काठमाण्डु टुडे २०७० फागुन २६ गते ५:१० मा प्रकाशित

चितवन, २६ फागुन– जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले उच्चमाध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई मोटरसाइकल र स्कुटर चलाउन रोक लगाएको छ ।

पछिल्लो समय हुने गरेका सवारी दुर्घटनामा उच्चमाध्यमिक तहमा अध्ययनरत विद्यार्थीको सङ्ख्या बढी पाइएपछि कार्यालयले सवारी चालक अनुमतिपत्र भएपनि सवारी साधन चलाएमा कारबाही गर्ने भएको हो ।
कार्यालयले सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नेहरूमाथि पनि कारबाही थालेको छ । तीव्र गति र मोबाइल फोनको  प्रयोगका  कारणले सवारी दुघर्टना बढी भएको पाइएपछि कार्यालयले आइतबारबाट अभियान चलाएको जिल्ला ट्राफिक प्रहरी  कार्यालयका प्रमुख रामचन्द्र घिमिरेले बताए ।

सवारी चाप बढ्दै गएपछि चितवनमा सवारी दुर्घटना पनि दिनप्रतिदिन बढ्दै गएको छ । दुघर्टना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी कार्यालयले सवारी चेकजाँच र मापसे नियन्त्रण अभियानलाई तीव्र पारेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us