रमेश खरेललाई कारबाही माग गरेको होइन: नेविसंघ

काठमाण्डु टुडे २०७० फागुन २६ गते ४:२४ मा प्रकाशित

काठमाण्डु, २६  फागुन –नेपाल विद्यार्थी संघले काठमाण्डु प्रहरी प्रमुख रमेश खरेललाई कारबाही गर्न माग नगरेको दाबी गरेको छ ।
ramesh Kharelअध्यक्ष रञ्जित कर्णले आफ्नो संगठनले खरेललाई कारबाहीको माग नगरेको बताए । ‘प्रहरीको एसएसपीलाई कारबाही गर्ने निकाय नेविसंघ होइन’, कर्णले काठमाण्डु टुडेसँग भने, ‘कारबाही नै गर्नुपरे गृहमन्त्रीलाई गर्ने हैसियतमा हामी छौं ।’

आफूहरुले नेविसंघ कार्यकर्तालाई झुठा आरोपमा पक्रेर दु:ख नदिन मात्र आग्रह गरेको उनले बताए । सरकारद्वारा इजाजत प्राप्त हतियार बोकेर हिंड्दैमा पक्रन नमिल्ने दाबी उनको छ ।

हतियार नवीकरण नभए जरिवाना गरेको भए हुनेमा पक्रेर कार्यकर्तालाई दु:ख दिइएको तर्क उनको छ । ‘दोषीलाई छुट दिनुपर्छ भन्ने हाम्रो भनाइ कदापि होइन, तर अनुसन्धानका नाममा अनावश्यक दु:ख दिन पाइँदैन, कर्णले भने, ‘गल्ती गरेको भए रञ्जित कर्णलाई पनि कारबाही गरे हुन्छ तर बिनागल्ती कसैलाई समाउन पाइँदैन ।’

आफ्नो संगठनका नेता कार्यकर्तालाई गैरकानुनी ढंगले गिरफ्तार गरिएको भन्दै सभासदसमेत रहेका कर्णले हिजो पत्रकार सम्मेलन गरी खरेललाई कारबाही गर्न माग गरेका थिए ।

प्रहरीले गैरकानुनी हतियार राखेको आरोपमा नेविसंघका पूर्वसहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत र नेविसंघ कार्यकर्ताहरु राकेशविक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कालाई एक साताअघि पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले काठमाण्डुले उनीहरुविरुद्ध हातहतियार तथा खरखजना मुद्धामा अनुसन्धानका लागि आइतबार थप ४ दिन थुनामा राख्न म्याद थप गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us