प्रधानमन्त्री कोइराला र खनालबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० फागुन २५ गते १२:५३ मा प्रकाशित

Sushil_Koirala_Jhalanath_Khanalकाठमाण्डु, २५ फागुन – प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालबीच भेटवाता भएको छ ।

खनाल निवास डल्लुमा भएको भेटमा स्थानीय निकायको निर्वाचन चाँडै गर्नेलगायतका समसामयिक विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले गत साता सम्पन्न बिम्स्टेक सम्मेलनकाबारेमा पनि अध्यक्ष खनाललाई जानकारी गराएका थिए ।

भेटपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले स्थानीय निर्वाचन नहुँदा मुलुकमा अर्बौं रकम  अनियमितता भएको, विकास निर्माणका कार्य रोकिएकाले अब चाँडै निर्वाचन गराउन आफूहरू लाग्ने बताए ।

उनले सरकारको न्यूनतम् साझा कार्यक्रमको तयारीका विषयमा पनि कुराकानी भएको जानकारी दिए । नयाँ संविधान बनेपछि कसले प्रमाणीकरण गर्ने भन्ने विषयमा दुई दलबीच हाल देखिएको विवादका बारेमा सोधिएको प्रश्नमा नेपाली काँग्रेसका सभापतिसमेत रहेका कोइरालाले यसलाई धेरै विवाद नगरी आपसी समझदारीमा टुङ्गो लगाउने बताए ।

अध्यक्ष खनालले बिम्स्टेक सम्मेलनको सफलता र यसको अध्यक्षको कार्यभार नेपाललाई आएको सम्बन्धमा प्रधानमन्त्री कोइरालाले आफूलाई जानकारी गराएको र दुई पार्टीबीचको समझदारीलाई गहिरो बनाउने कुराकानी भएको जानकारी दिए ।

खनालले सतह (सञ्चार माध्यम) मा देखिएका विवादलाई थप नचर्काइ आपसी वार्ता गरेर निधो गरिने बताए । प्रधानमन्त्री कोइराला र अध्यक्ष खनालबीच २६ जना सभासद्को मनोनयनका विषयमा पनि छलफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us