
काठमाण्डु, २५ फागुन – एकीकृत माओवादीले संविधान जारी नभइ हुने स्थानीय चुनावमा सहभागी नहुने प्रष्ट पारेको छ । एमाओवादी नेता अग्नीप्रसाद सापकोटाले संविधान जारी नगरी स्थानीय चुनाव गरिए आफूहरु सहभागी नहुने बताए ।
रिपोटर्स क्लवले आइतबार गरेको साक्षात्कारमा बोल्दै सापकोटाले यथास्थितिमा स्थानीय चुनाव गराउन खोजे कुनै पनि हालतमा हुन नदिने चेतावनी दिए ।
संविधान कसले प्रमाणीत गर्ने र कसले जारी गर्ने भन्ने विवाद अनावश्यक रहेको भन्दै उनले काँग्रेस र एमालेको आपसी खिचातानीकै प्रतिफल मुलुक यस्तो फजुलको विवादमा रुमल्लीएको आरोप लगाए ।
साथै सापकोटाले सर्वपक्षीय गोलमेच सम्मेलन गरेर भएपनि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई संविधान निर्माण प्रकृयामा ल्याउनुपर्ने बताए ।
‘वैद्यजीहरु पनि संविधान निर्माण प्रकृयामा सहभागी हुन लचीलो भइसक्नुभएको छ,’ सापकोटाले भने, ‘अब उहाँहरुलाई पनि समेटेर संविधान लेखनतिर नै हामीले मुख्य ध्यान केन्द्रीत गर्नुपर्छ ।’