नारी दिवसको दिन जलाइएकी नजरानाको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन २५ गते ११:१३ मा प्रकाशित

Jalayer-300x225सप्तरी, २५ फागुन – अन्तर्राष्ट्रिय नारी दिवस मनाईरहँदा सप्तरी सदरमुकाम राजविराजमा शनिबार दिउँसो जलाइएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

राजविराज नगरपालिका ७ निवासी गुडु अन्सारीकी श्रीमती अन्दाजी २६ वर्षिया नजराना खातुनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएराती मृत्यु भएको हो ।

नजरानाका श्रीमान् गुडु अन्सारी करिब १५ दिनअघि वैदेशिक रोजगारकालागि साउदीअरब गएका छन् । शनिबार दिउँसो २ बजेतिर घरमा सुतिरहेका बेला अचानक शरीरमा आगजनी भएपछि चिच्याएको आवाज सुनेका स्थानीयको प्रयासमा नजराना खातुनलाई उद्दार गरेर उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

आगजनीबाट नजरानाको शरीरको ९० प्रतिशत भाग जलेको थियो । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि खातुनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

घटना भएका बेला घरमा कोही नभएको र पछि खोज्दै जाँदा एक छिमेकीको घरमा उनकी सासु सहितका तीन महिला फेला परेकोले घटना रहस्यमय रहेको स्थानीयबासीले बताए ।
सासु बानो खातुन र देउरानी नुरजाहा खातुसँग नजरानाको घरायसी विषयमा पटक–पटक झगडा हुँदै आएकोले उक्त घटनामा उनीहरुकै संलग्नता हुन सक्ने आशंका छिमेकीहरुको छ । सासुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यता पीडित नजरानाका ससुरा मो महमुद अन्सारीले आफू राजविराजस्थित पसलमा रहेका बेला अचानक एक जनाले आफूलाई घटनाबारे जानकारी गराएपछि मात्र थाहा पाएको बताएका छन् ।
यसैबीच सप्तरीका प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले घटना रहस्यमय रहेकाले छानबिन भईरहेको जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us