सरकार स्थानीय निर्वाचनको तयारीमा : उपप्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०७० फागुन २५ गते १०:२१ मा प्रकाशित

Prakash-Man-Singhकाठमाण्डु, २५ फागुन – उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सरकार स्थानीय निकायको निर्वाचनको तयारीमा रहेको बताएका छन् ।

जिल्ला विकास समिति ललितपुरको २३ औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण गर्न आइतबार आयोजित कार्यक्रममा उनले स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन हुँदा कार्यसञ्चालनमा निकै कठिनाइ भएको बताए ।

जनप्रतिनिधिविहीनताका अवस्थाले गर्दा विकास निर्माणसमेतका कार्य प्रभावित भएको र अनावश्यक झण्झट पैदा भएको उनको भनाइ छ ।

एक वर्षभित्र संविधान निर्माण होस् र स्थानीय निकायको निर्वाचन पनि छिट्टै होस् भन्ने जनचाहना रहेको पनि मन्त्री सिंहले उल्लेख गरे ।

ललितपुर जिल्ला राजधानीसँग जोडिएको जिल्ला भएका कारण यहाँको विकासलाई काठमाण्डु, ललितपुर र भक्तपुर तीनवटै जिल्लासँग जोडेर गरिनु आवश्यक भएको उनको भनाइ छ ।

सो अवसरमा ललितपुरका स्थानीय विकास अधिकारी पशुपति पोखरेलले २३ औँ जिल्ला परिषद्ले प्रस्ताव गरेको बजेट तथा कार्यक्रम कार्यान्वयनबाट ललितपुर जिल्लाको समावेशी विकासमा सघाउ पुग्ने, आर्थिक वृद्धि हासिल गर्न मद्दत पुग्ने, रोजगारी र राजस्व अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

परिषद्ले आगामी आर्थिक वर्ष २०७१÷७२ का लागि जिल्लाको कुल चार अर्ब पाँच करोड १५ लाख ९३ हजारको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us