जिउँदै आगो लगाइएकी गर्भवतीको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन २५ गते ५:४८ मा प्रकाशित

सप्तरी, २५ फागुन– अन्तर्राष्ट्रिय नारी दिवसका दिन शनिबार शरीरमा मट्टीतेल खन्याएर आगो लगाइएकी एक गर्भवती महिलाको ज्यान गएको छ ।
जिउँदै आगो लगाइएकी राजविराज  नगरपालिका–७ का गुडु अन्सारीकी श्रीमती अन्दाजी २६ वर्षीया नजराना खातुनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनी पाँच महिनाकी गर्भवती रहेको पारिवारिक श्रोतले जनाएको छ । नजरानाको मृत्युपछि दुई वर्षीया छोरी रौनक खातुन टुहुरी भएकी छन् ।
आफ्नै घरमा सुतिरहेका बेला शनिबार दिउँसो खातुनको शरीरमा आगो लगाइएको थियो । खातुनको उपचारका क्रममा शनिबार राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नायव उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

कसले आगो लगाएको हो भन्ने खुलेको छैन । यसैबीच प्रहरीले नजरानाकी सासू बानो खातुन र जेठानी नुरजाहा खातुनलाई पक्राउ गरेको छ । घटनास्थलबाट करिब ५० मिटरको दूरीमा रहेको पोखरीको छेउमा मट्टीतेलको भाँडो भेटिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us