महिलालाई जिउँदै जलाएर मार्ने प्रयास

काठमाण्डु टुडे २०७० फागुन २४ गते १२:३५ मा प्रकाशित

Jalayer सप्तरी, २४ फागुन – अन्तर्राष्ट्रिय नारी दिवस मनाईरहँदा सप्तरी सदरमुकाम राजविराजमा शनिबार दिउँसो एक महिलालाई जिउँदै जलाएर मार्ने प्रयास गरिएको छ ।

राजविराज नगरपालिका ७ निवासी गुडु अन्सारीकी श्रीमती अन्दाजी २६ वर्षिया नजराना खातुनलाई जिउँदै जलाएर मार्ने प्रयास गरिएको हो । नजरानाका श्रीमान् गुडु अन्सारी करिब १५ दिनअघि वैदेशिक रोजगारकालागि साउदीअरब गएका छन् ।

शनिबार दिउँसो २ बजेतिर घरमा सुतिरहेका बेला अचानक शरीरमा आगजनी भएपछि चिच्याएको आवाज सुनेका स्थानीयको प्रयासमा नजराना खातुनलाई उद्दार गरेर उपचारका लागि अस्पतालमा भर्ना गराएको स्थानीयबासीहरुले जानकारी दिएका छन् ।

आगजनीबाट नजरानाको करिब ९० प्रतिशत शरीरको भाग जलेको छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि खातुनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ ।

घरभित्र आगो सल्केको र कोही चिच्याईरहेको आवाज सुनेर त्यहाँ पुगेका स्थानियहरुले घटनास्थलमा मट्टीतेलको गन्ध आईरहेकोले कसैले मट्टीतेल छर्केर आगो लगाएको आशंका गरेका छन् ।

घटना भएका बेला घरमा कोही नभएको र पछि खोज्दै जाँदा एक छिमेकीको घरमा उनकी सासु सहितका तीन महिला फेला परेकोले घटना रहस्यमय रहेको स्थानीयबासीले बताए ।

सासु बानो खातुन र देउरानी नुरजाहा खातुसँग नजरानाको घरायसी विषयमा पटक–पटक झगडा हुँदै आएकोले उक्त घटनामा उनीहरुकै संलग्नता हुन सक्ने आशंका छिमेकीहरुको छ ।

यता पीडित नजरानाका ससुरा मो महमुद अन्सारीले आफू राजविराजस्थित पसलमा रहेका बेला अचानक एक जनाले आफूलाई घटनाबारे जानकारी गराएपछि मात्र थाहा पाएको बताएका छन् ।

यसैबीच सप्तरीका प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले घटना रहस्यमय रहेकाले छानबिन भईरहेको जनाए ।

प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले आगो लगाएर मार्ने प्रयास हो कि आत्महत्या गर्न खोजेको हो, त्यस विषयमा छानबिन भईरहेको जानकारी दिए । उनले पीडितका परिवारजनसँग समेत यस विषयमा छानबिन भईरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us