एकताका लागि दबाब दिन खनालको आह्वान

काठमाण्डु टुडे २०७० फागुन २४ गते १२:१४ मा प्रकाशित

JN_khanal1काडमाण्डु, २४ फागुन – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टीको नवौँ महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशन बनाउनका लागि दबाब सिर्जना गर्न समग्र पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् ।

एमाले राप्ती अञ्चल सम्पर्क कमिटीद्वारा त्यस क्षेत्रका सभासद्को सम्मानका लागि शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि अध्यक्षका हैसियतले सबैभन्दा ठूलो भूमिका निर्वाह गरिने प्रतिबद्धता जनाए ।

उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिलाई विश्वासमा लिएर  जनचाहनाअनुरुपको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान लेख्नुपर्ने ठूलो दायित्व एमालेको काँधमा रहेकाले संविधान लेखनको काममा ध्यान केन्द्रित गर्न उनले विजयी सभासद्लाई निर्देशन दिए ।

‘मुलुकमा देखिएको दण्डहीनता, भ्रष्टाचार अराजकता र  बेथितिको अवस्थालाई अन्त्य गरेर लामो समयदेखि हुन नसकेको स्थानीय निर्वाचन गराउने चुनौतीपूर्ण दायित्व एमालेका तर्फबाट सरकारमा गएको टोलीलाई रहेको छ’ अध्यक्ष खनालले भने, ‘सरकारले चाँडोभन्दा चाँडो स्थानीय निकायको निर्वाचनको घोषणा गरोस्, निर्वाचन गरेर स्थानीय निकायमा लोकतन्त्रको आधार  तयार गरियोस् ।’

कार्यक्रममा एमाले सचिव युवराज ज्ञवालीले संविधान निर्माणको मुख्य जिम्मेवारीलाई सभासद्ले कुशलतापूर्वक पूरा गरेमा लोकतन्त्रलाई स्थायित्व दिन कुनै कठिनाइ नहुने बताए ।

पार्टी पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले पार्टीभित्रको गुटबन्दी, प्रतिस्पर्धाका नाममा भएका अनुचित प्रयोग, भ्रष्टाचार र ‘डन’को संरक्षण गर्ने प्रवृत्तिविरुद्ध आवाज बुलन्द पार्न जरुरी रहेको धारणा व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us