घरेलु हिंसाबाट पन्ध्र सय ६९ महिला पीडित

काठमाण्डु टुडे २०७० फागुन २४ गते ८:४२ मा प्रकाशित

rapeeललितपुर, २४ फागुन – यस वर्ष घरेलु हिंसाबाट एक हजार ५ सय ६९ जना महिला पीडित भएको एक प्रतिवेदनले देखाएको छ ।

१०४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकले) सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

यस वर्ष तीन हजार ४८ जना महिला र बालिकामाथि भएका हिंसाका घटनाहरुमा दुई हजार ३४८ महिला र १८ वर्ष मुनिका ७०० बालिका पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी यस वर्ष १७८ जना महिला तथा बालिकाको हत्या भयो तीमध्ये १०८ जना परिवारजनबाट, पाँच जना बिहेमा दाइजो नपाएकाले मारिए, छ जना बलात्कारपछि मारिए र बोक्सीको आरोपमा एक जनाको हत्या गरिएको प्रतिवेदनमा प्रष्ट छ ।

बहुविवाह, बलात्कार एवम् अन्य यौनिक हिंसा, बोक्सीको आरोपलगायतका हिंसाबाट सबैभन्दा बढी पीडित हँुदै आएको इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले बताए ।

कानुनी प्रावधान विद्यमान रहे पनि फितलो कार्यान्वयनका कारण महिला तथा बालिकाबिरुद्ध भएका हिंसाका घटनामा कमी आउन नसकेको उनी बताउँछन् ।
मध्यमाञ्चल क्षेत्रमा घरेलु हिंसाका घटना बढी भएका छन् । यस क्षेत्रमा ६५१ जना महिलामाथि घरेलु हिंसा भएको उल्लेख गरिएको छ  ।

गरिबी अशिक्षा र आर्थिक परनिर्भरतालाई कम गर्ने र हरेक क्षेत्रमा महिलाको सहभागितामा जोड दिए महिला र बालिकामाथि हुने हिंसामा कमी ल्याउन सकिने अधिकारकर्मीको सुझाव छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us