साँझ ३ घण्टा लोडसेडिङ गर्दिन : उर्जामन्त्री

काठमाण्डु टुडे २०७० फागुन २४ गते ७:३८ मा प्रकाशित

Radhd Gyawaliकाठमाण्डु, २४ फागुन – उर्जामन्त्री राधा ज्ञवालीले साँझ ६ बजेदेखि बेलुका ९ बजेसम्म विद्युतभार कटौती नगर्ने व्यवस्था गर्न लागेको बताएकी छिन् । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा डिल्लीबजार कन्या क्याम्पसद्वारा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले सो कुरा बताएकी हुन् ।

‘महिला दिदीबहिनीहरुले घरमा काम गर्ने तथा विद्यार्थीहरु पढ्ने र समाचार हेर्ने बेलामा निकट भविष्यमै विद्युतभार कटौती नहुने व्यवस्था गर्दैछु, उनले भनिन्, ‘साँझ ६ बजेदेखि बेलुका ९ बजेसम्म विद्युत कटौती हुनेछैन ।’

साथै मन्त्री ज्ञवालीले आफू दैनिक १२ घण्टा विद्युतभार कटौती भइरहेको चुनौतीपूर्ण समयमा ऊर्जा मन्त्री भए पनि पाँच वर्षभित्र मुलुकलाई लोडसेडिङमुक्त बनाउन कार्ययोजना बनाउनतर्फ केन्द्रित रहेको बताईन् ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् कमला पन्त, एनेकपा (माओवादी)का केन्द्रीय सदस्य शशी श्रेष्ठ, नेकपा–माआवादीका केन्द्रीय सदस्य जयपुरी घर्ती, राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारीलगायतले नेपाली महिला घरको कामकाजमा बढी व्यस्त हुनुपरेकाले पुरुषको तुलनामा पिछडिएको बताएका थिए ।

साथै उनीहरुले महिलाले घरमा गरेको श्रमको मूल्याङ्कन नभई अगाडि बढ्न नसकिने भएकाले अब अधिकार र काम दुवै पुरुष र महिलाबीच बराबर हुनुपर्ने कुरामा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us