आफ्नै लगानीमा स्थानीयले बनाए सडक

काठमाण्डु टुडे २०७० फागुन २४ गते ६:३५ मा प्रकाशित

म्याग्दी, २४ फागुन – सर्वसाधारणले  आफ्नै लगानीमा गाउँमा सडक निर्माण गरेका छन् । म्याग्दीको पिप्ले गाविसको अच्छेत गाउँका सर्वसाधारणले गाविसको वडा नं ५ नागबारीदेखि वडा नं ६ अच्छेत हुँदै वडा नं ७ कलेजाबाङ जोड्ने करिब तीन किलोमिटरको सडक निर्माण गरेका हुन् ।

अच्छेत गाउँका स्थानीयवासीको रु दुई लाख ५० हजारको लगानीबाट करिब तीन किलोमिटर सडक निर्माण गरिएको सडक निर्माण समितिका अध्यक्ष इमबहादुर भण्डारीले जानकारी दिए ।

सडक निर्माणका लागि १८ घरधुरीले न्यूनतम पाँच हजारदेखि रु २० हजारसम्म लगानी गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

स्थानीयवासीको शतप्रतिशत श्रमदानमा सडक निर्माण भएपछि अच्छेत र कलेजाबाङ गाउँका सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुगेको समितिका सदस्य रेशम केसीले बताए । सडक निर्माणका लागि गाउँ परिषद्मा माग गरिएको बजेट प्राप्त भएमा ट्र्याक खोलिएको सो सडकको स्तरोन्नति गरिने निर्माण समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us