बामदेवलाई पम्फाको चुनौती

काठमाण्डु टुडे २०७० फागुन २३ गते १०:३९ मा प्रकाशित

काठमाण्डु २३ फागुन-गोरखाको फुजेल घटनाका बारेमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले दिएको अभिव्यक्ति प्रति नेकपा माओवादीकी प्रवक्ता पम्फा भुसालले चुनौती दिएकी छिन । गैरजिम्मेवार अभिव्यक्ति तुरुन्त सच्याउन,वेपत्ता नागरिक सार्वजनिक गर्न र सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत समस्या समाधान गर्न भुसालले गौतमसँग जोडदार माग गरेकी छिन । Pampha-Bhusal1
‘युद्धकालका राजनीतिक आस्थाका आधारमा लगाइएका झुठा मुद्दा खारेज गरी त्यस्ता मुद्दा लगाउनेलाई कारबाही गर्नुको सट्टा, वेपत्ता नागरिक सार्वजनिक गर्नुको सट्टा, युद्धकालमा भएका मानवअधिकार उल्लङ्घनका घटनाको तथ्यका आधारमा राजनैतिक सहमति र मेलमिलाप गर्नुको सट्टा, तिनलाई ब्युँत्याएर पुनः द्वन्द्व निम्त्याउने जमर्को र सार्वजनिक घोषणा गर्नु नितान्त गलत रहेको ठहर हाम्रो रहेको छ’ भुसालले शुक्रवार जारी गरेको प्रेस बक्तव्यमा भनिएको छ।
१२ बुँदे समझ्दारी, वृहत शान्तिसम्झौता तथा अन्तरिम संविधानमा भएका वेपत्ता नागरिक सार्वजनिक गर्ने, सशस्त्र द्वन्द्वका समयमा भएका मानवअधिकार उल्लङ्घनबारे सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता सार्वजनिक गर्ने आयोग र वेपत्ता आयोगद्वारा सत्यतथ्य निरुपण गरी सामाजिक मेलमिलापको वातावरण निर्माण गर्ने र झुठा मुद्दाहरु खारेज गर्ने भन्ने कुराको गृहमन्त्री गौतमले बर्खिलाप गरेको आरोप भुसालले लगाएकी छिन । प्रेस बक्तव्यमा भनिएको छ ‘आफ्नो राजनीतिक गलत अभिष्ट पूरा गर्ने उद्देश्यले सामान्य कानुन बमोजिम घटना र मुद्दाहरुको एक–एक गरी छानबिन गर्ने, क्षतिपुर्ति दिने तथा कारबाही प्रक्रिया अगाडि बढाउने भन्ने घोषणा गर्नु बृहत राजनीतिक सहमति अनुसार द्वन्द्व व्यवस्थापन र मेलमिलापको सरकारी दायित्वबाट पन्छिने निकृष्ट अभिव्यक्तिलाई हाम्रो पार्टी नेकपा–माओवादी घोर भत्र्सना एवम् निन्दा गर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us