जिल्लाको विकासका लागि सभासद्हरु सङ्गठित

काठमाण्डु टुडे २०७० फागुन २३ गते १०:१८ मा प्रकाशित

चितवन, २३ फागुन – चितवन जिल्लाको विकासका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद्हरु सङ्गठित रुपमा लाग्ने भएका छन् ।

उद्योग वाणिज्य सङ्घ चितवनले आज आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी सबै सभासद्ले जिल्लाको विकासका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

सभासद्हरुले एकदशक लामो द्वन्द्वका कारण जर्जर भएको अर्थतन्त्रलाई माथि उकास्न अर्थतन्त्र केन्द्रित राजनीति गर्ने बताए ।

यो र त्यो पार्टी नभनी जिल्लाको आर्थिक विकासमा जुट्नेसमेत उनीहरुले प्रतिबद्धता जनाए । औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरी उद्योग मैत्री वातावरण बनाउन आफूहरु तयार रहेको उनीहरुको भनाइ थियो ।

सो अवसरमा नेपाली काँग्रेसका सभासद् शेषनाथ अधिकारी, अन्जनी श्रेष्ठ, शान्ता चौधरी, नेकपा एमालेका सभासद् सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, कृष्णभक्त पोख्रेल, शिवकुमारी गोतामे, एकीकृत नेकपा–माओवादीका सभासद् धनीराज पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले वित्तीय र आर्थिक विकासका दृष्टिले चितवनलाई राजधानी एवम् प्रमुख सहरका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जिल्लाका सभासद्हरुले समिति नै निर्माण गरी विकासका लागि पहल गर्नसमेत तयारी गरेका छन् । कार्यक्रम उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष कल्याण जोशीको सभापतित्वमा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us