तीन मिनेट भाषण गर्न एक दिनको यात्रा

काठमाण्डु टुडे २०७० फागुन २३ गते ३:४७ मा प्रकाशित

गुल्मी, २३ फागुन– जनप्रतिनिधिबाट जनताले धेरै आशा गरेका हुन्छन् ।

त्यसमा पनि जिल्लाको समग्र योजना बनाउने विषयमा उनीहरुको मन्तव्यले विशेष अर्थ राख्छ ।

तर गुल्मीको सातौँ जिल्ला परिषद्मा भने त्यसो हुन सकेन ।

जिल्ला परिषद् कार्यक्रम तैयारी गर्ने निकाय जिल्ला विकास समितिको फितलो व्यवस्थापनले यहाँका सभासद्हरुले एक दिनको यात्रा गरेर जम्मा तीन मिनेटमात्र भाषण गर्न पाए । उनीहरुले मन्तव्यका क्रममै त्यसप्रति गुनासो गरे ।

“हामी बुधबार बिहान ५ बजे गाडी चढेर साँझ ५ बजे यहाँ आयौँ, जिल्लाको विकासको विषयमा कुरा गर्न तर जम्मा तीन मिनेट समय भनेर छुट्याउनु हुन्थेन”– गुल्मीकी सभासद् दिलशोभा पुनले भनिन् ।

सातौँ गणतान्त्रिक जिल्ला परीषद्मा सभासद्का लागि जम्मा तीन मिनेट भन्दै समय छुट्याएपछि उहाँले मन्तव्यकै क्रममा यस्तो बताएकी हुन्

। परिषद्मा जिल्लाका ससाना सङ्गठन र नेतादेखि सभासद्, पूर्वमन्त्री र मन्त्रीसम्म गरी अढाइ दर्जनभन्दा बढीको भाषण राखिएको जिल्ला परिषद् निकै लम्बेतान भएकाले खल्लो भएको कार्यक्रमका अतिथि र दर्शकहरुले बताए ।

सभासद् सिर्जना तरामुले भनिन्–“हामी आज संसद् बैठक छोडेर यहाँ कुरा गर्न आएका छाँै, जिल्लाको प्रतिनिधिको हैसियतले जिल्लाको विकासको विषयमा कुरा गर्नुपर्नेछ ।” पुनसहित गुल्मी जिल्लाका प्रत्यक्ष तीन र समानुपातिकका चार गरी सातजना सभासद् जिल्ला परिषद्मा मन्तव्य व्यक्त गर्न आएका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us