मृत्यु भएकालाई पनि छोडेन अख्तियारले

काठमाण्डु टुडे २०७० फागुन २१ गते ९:०८ मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogझापा, २१ फागुन – झापामा अधिकांश मृत्यु भइसकेका र अवकाश पाइसकेका शिक्षकका नाममासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको लागि पत्र पठाएको छ ।

दुई बर्षअघि मृत्यु भएका कवि शिरोमणि उमावि मेचीनगरका शिक्षक दिलबहादुर मगरको नाममा अख्तियारले पत्र काटेको छ ।

उनको नाममा पनि आयोगले सम्पत्ति विवरण नबुझाएको भन्दै जिल्ला शिक्षा कार्यालय झापालाई जरिवाना गर्नुभन्ने कारबाहीको सिफारिस गर्दै पत्र पठाएको छ ।

यता मेचीनगरकै यामप्रसाद भण्डारीले शिक्षक पेसाबाट अवकास लिएको नौ वर्ष भइसकेको छ तर उनलाई आयोगले त्यस्तै पत्र पठाएको छ । दिलबहादुर र यामप्रसाद प्रतिनिधि पात्र मात्र हुन् ।

उनीहरु जस्ता सयाँै झापाली शिक्षकको नाममा यो वर्षको सम्पत्ति विवरण नबुझाएको भन्दै आयोगले शिक्षा कार्यालयलाई जरिवानाको चिठी पठाएपछि यतिखेर शिक्षकहरु अचम्ममा परेका छन् ।

अझ अर्को रमाइलो पक्ष त के छ भने सम्पत्ति विवरण बुझाएर शिक्षक किताबखाना काठमाडाँैमा नाम पठाएका शिक्षकको नामसमेत उक्त पत्रमा परेको छ । मृत्यु भइसकेका, अवकाश पाएका, अन्य जिल्लामा सरुवा भई गएका र विवरण बुझाएर पनि नबुझाएको भन्दै नाम सार्वजनिक भएपछि झापाली शिक्षक आयोगको लापरबाहीले चिन्तित बनेका छन् ।

नेपाल शिक्षक युनियन झापाका अध्यक्ष तेजप्रसाद चौलागार्इंले त्रुटि सच्याउन अनुरोध गर्दै केही दिनअघि जिल्ला शिक्षा कार्यालय झापामा मागपत्र बुझाइएको बताउनुभयो ।

झापाका ५ सय ८४ जना शिक्षकको नाम जरिवाना तिर्नुपर्ने सूचीमा परेपछि नेपाल शिक्षक सङ्घको पहलमा केन्द्रीय सदस्य तिलकसिंह पाण्डे नेतृत्वको टोलीले काठमाडाै गएर शिक्षक किताबखानामा खोजी गरेको थियो ।

जसमध्ये २७७ जना शिक्षकको नाम अभिलेखमा भेटाइएको छ । अन्य शिक्षकलेसमेत आफ्नो विद्यालय र स्रोत केन्द्रमा सम्पत्ति विवरण बुझाएको बताएका छन् ।

“मैले आफैंले आफ्नो सम्पत्ति विवरण बुझाएको हो”, जनज्योति निमावि शान्तिनगरका शिक्षक घनश्याम घिमिरेले भन्नुभयो– “तर कुन रुपमा नाम सार्वजनिक भएको हो म आफँै अचम्ममा परेको छु ।”

आर्थिक वर्ष सुरु भएको ६० दिनभित्रमा स्थायी शिक्षकले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । यदि विवरण नबुझाएमा रु पाँच हजार जरिवानासहित पुनः विवरण पठाउनुपर्छ ।

अख्तियारले पत्र पठाएकामध्ये मृत्यु भएका शिक्षकमा प्रावि बर्नेका महिकरप्रसाद चौधरी, सरस्वती माविका ज्ञानेन्द्र बोहोरा, त्रिभुवन माविका धनकुमार श्रेष्ठ, महेन्द्ररत्न उमावि अनारमनीका युवराज घिमिरे, आदर्श निमाविका रामप्रसाद ओली, शनिश्चरे उमाविका लक्ष्मीप्रसाद खरेल, शान्ति आदर्श उमाविका लिलाप्रसाद तिम्सिनालगायत छन् ।

जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद रेग्मीले विवरण नबुझाउनेलाई फागुन २२ गते पुनः बुझाउन पाउने र भुलवस नाम परेका शिक्षकको सम्पूर्ण विवरण खुलाएर केन्द्रमा पठाउने जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us