एक सय पन्ध्र विद्यार्थीले प्रवेशिका परीक्षा दिन पाएनन्

काठमाण्डु टुडे २०७० फागुन २१ गते १:१७ मा प्रकाशित

तेह्रथुम, २१ फागुन । यस जिल्लाका १ सय १५ जना विद्यार्थी प्रवेशिका परीक्षामा सामेल हुन नपाउने भएका छन् ।

शिक्षा नियमावलीअनुसार विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेकाले उनीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन् । विद्यार्थी तथा अभिभावकहरुको लापरबाहीका कारण विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित भएको विद्यालयले जनाएका छन् ।

जिल्ला शिक्षा कार्यालयका अनुसार सबभन्दा बढी भगवती उच्चमावि थोक्लुङबाट १५ र सिंहवाहिनी उच्चमाविबाट ११ जना विद्यार्थी परीक्षामा सामेल हुन नपाउने भएका छन् ।

शिक्षा नियामावलीमा भएको व्यवस्थाबारे पटकपटक विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउँदासमेत उनीहरुले वास्ता नै नगरेको भगवती उच्चमावि थोक्लुङका प्रधानाध्यापक प्रेमप्रकाश लामिछानेले बताए ।

आगामी चैत ६ गतेदेखि सञ्चालन हुने एसएलसी परीक्षामा तेह्रथुमबाट नियमिततर्फ दुई हजार ११ र एक्जाम्टेडतर्फ ८५१ गरी कुल दुई हजार ८६२ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us