एकीकृत विकास योजना आवश्यक : मन्त्री सिंह

काठमाण्डु टुडे २०७० फागुन २० गते १२:२७ मा प्रकाशित

Prakash-Man-Singhकाठमाण्डु, २० फागुन – उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले काठमाण्डु, ललितपुर तथा भक्तपुर जिल्लाको सबै भूगोललाई समेटी एकीकृत विकास योजना बनाउन आवश्यक भएको बताएका छन् ।

जिल्ला विकास समिति काठमाण्डुको सातौँ जिल्ला परिषद्बाट पारित आर्थिक वर्ष २०७१/०७२ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उनले ती जिल्लाहरूका छुट्टै योजनाले जनताको चाहनालाई सम्बोधन गर्न नसकेकाले एकीकृत योजना चाहिएको बताए ।

मन्त्री सिंहले स्थानीय निकायमा लामोसमयदेखि जनप्रतिनिधिविहीन हुँदा जनताका विकासका आवश्यकता  र चाहनालाई सम्बोधन गर्न नसकिएको चर्चा गर्दै नयाँ निर्वाचन सम्पन्न गर्न सरकारले गृहकार्य सुरु गरिसकेको जानकारी दिए ।

‘मैले मन्त्रालयको तर्फबाट निर्वाचन सम्पन्न गर्न आवश्यक गृहकार्य अगाडि बढाउन निर्देशन दिइसकेको छु,’ मन्त्री सिंहले भने, ‘स्थानीय निकाय जनता मैत्री हुन आवश्यक छ ।’ काम लिएर आउनेलाई अनावश्यक दुःख दिन नहुने र विकास निर्माणमा गएका रकमको सही सदुपयोग हुनुपर्ने उनको भनाइ छ ।

सो अवसरमा काठमाण्डु जिल्ला विकासका लागि आव २०७१÷०७२ का लागि रु पाँच अर्ब ८६ करोड ३८ लाख ५४ हजारको बजेट सार्वजनिक गरिएको थियो । आगामी आवका लागि १३ वटा जिल्लास्तरीय सडक निर्माण, १३ वटा ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम, १० वटा साना सिँचाइजस्ता कार्यक्रम सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले जिल्ला विकास समितिले कार्यक्रम तय गर्दा सङ्घीयतालाई ध्यान दिन र प्रत्यक्ष जनताको सरोकारसित सम्बन्ध राख्ने कार्यक्रमलाई पहिलो प्राथमिकता दिन आग्रह गरे ।

उनले सडक निर्माण, पानीको मुहानलाई संरक्षण, जिल्लाभित्रका आदिवासी, जनजाति, दलित, गरीब, अपाङ्ग वर्गलाई आर्थिक एवं सामाजिक रुपमा माथि उठाउने खालका कार्यक्रम कार्यान्वयनमा ध्यान दिन सुझाव दिए ।

यस्तै सांसद गगन थापाले जिविसले बजेट तथा कार्यक्रम बनाउँदा नेतालाई खुसी बनाउनेभन्दा जनतालाई खुसी बनाउने खालका हुुनुपर्छ भन्दै बजेट कनिका छरेजस्तो हुनुहुँदैन भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us