कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखामा पौडेल

काठमाण्डु टुडे २०७० फागुन २० गते ११:५६ मा प्रकाशित

काठमाण्डु, २० फागुन – नेपाल पत्रकार महासंघ कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखामा श्रीधर पौडेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।

मंगलबार भएको शाखाको चौथो अधिवेशनबाट उपाध्यक्षमा मदन खनाल, सचिवमा सविन मिश्र, कोषाध्यक्षमा सिल्भिया राजोपाध्याय र सहसचिवमा राजेन्द्र शाक्य चयन भएका छन् ।

सदस्यहरुमा सुनिता पहरी, शसिन्द्र गौतम र मोहन पौडेल चुनिएका छन् । अधिवेशनले सुनील न्यौपाने, माधव दुलाल, रोशन पुरी, बोमलाल गिरी र सूर्यकुमार क्षेत्रीलाई सभाषदमा निर्वाचित गरेको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य मात्रिका पौडेलले अहिले पनि केही संचार माध्यमले न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै लागू गर्न आग्रह गरे । केन्द्रीय सदस्य पौडेलले अब पत्रकारको न्यूनतम तलव १५ हजार बनाउनु पर्ने निर्णय भएको र त्यसलाई संचार गृहले लागू गर्नु पर्नेमा जोड दिए ।

महासंघका केन्द्रीय प्रतिनिधि लेखनाथ न्यौपानले श्रमजीवी पत्रकारका समस्या समाधान गर्नका लागि सबै पत्रकार एक जुट हुनुपर्ने बताए ।

कम्यूनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाइँले उज्यालोमा न्यूनतम पारिश्रमिक लागू गरिएको र न्यूनतम पारिश्रमिक नपाउने कुनै पत्रकार र कर्मचारी उज्यालोमा नरहेको स्पष्ट पारे । पत्रकारले जागीरे प्रवृत्ति त्यागेर पेशागत क्षमता बढाएर काम गर्नुपर्ने गुरागाइँको भनाई थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us