
चितवन, फागुन – मोबाइलको एसएमएसबाटै सवारी साधनको सुरक्षा गर्न सकिने प्रविधिलाई चितवनमा प्रयोगमा ल्याउन थालिएको छ ।
सुरक्षा ट्रेडिङ सेन्टर, नारायणगढले चितवनमा यस्तो प्रविधि भित्र्याएको हो ।
आफ्नो मोबाइलको सहायताले आफ्नो सवारी साधनको अवस्था बुझ्न सकिने अत्याधुनिक इलेक्ट्रोनिक प्रणालीको विकास गरिएको ओरियन्टल सेक्युरिटी सर्भिसका प्रबन्ध निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।
पौडेलले ‘टिआर लक’ उपकरणमार्फत यस्तो जानकारी लिन सकिने बताए । सवारी साधनमा यस किसिमको उपकरण जडान गरेपछि त्यो सवारी साधन चोरी भएको अवस्थामा मोबाइलमा स्वतः सन्देश(म्यासेज) आउने र त्यही अवस्थाअनुसार सवारीको सुरक्षा गर्न सकिने र चोरलाई पक्राउ गर्न सहयोग पुग्नेछ ।
‘टिआर लक’ जडान गरिएको सवारी साधन चोरी भएमा पनि घरमा नै बसेर उक्त सवारी साधनलाई बन्द गर्न सकिने पौडेलले बताए ।
सवारी साधनमा टिआर लक जडान गरिएको छ भने उक्त सवारी हराएको खण्डमा पनि घरमै जानकारी आउने पौडेलले बताए । टिआर लक जडान गरिएको सवारी साधन अरु कसैले लगेर उच्च गतिमा चलाएको खण्डमा घरमा नै बसेर आफँैले नियन्त्रण गर्न सकिने पौडेलले उल्लेख गरे ।
उक्त लकको सहायताले सवारी साधनको अवस्था, उक्त सवारी साधन कुन स्थानमा छ, भन्ने लगायतका सबै जानकारी मोबाइलबाट नै लिन सकिनेछ ।
मोटरसाइकल, कार, भ्यान, जिपलगायत जुनसुकै सवारी साधनमा पनि टिआर लक जडान गर्न सकिने उल्लेख छ । उक्त इलेक्ट्रोनिक प्रणाली चार महिना अगाडि सिङ्गापुरबाट नेपालमा भि¥याइएको हो ।
हाल काठमाण्डु, वीरगञ्ज, धनगढी, नेपालगञ्जलगायतका ठाउँमा टिआर लकको सुविधा उपलब्ध गराइएकोे पौडेलले जानकारी दिए । नारायणगढमा सुरक्षा ट्रेडिङ सेन्टर खोलिएपछि देशका अन्य स्थानमा पनि चाँडै नै यो सुविधा उपलब्ध गराइने बताइएको छ ।