नियमावली मस्यौदा समितिको म्याद थपियो

काठमाण्डु टुडे २०७० फागुन २० गते ७:३७ मा प्रकाशित

Biccकाठमाण्डु, २० फागुन – संविधानसभाले संविधानसभा नियमावली मस्यौदा समितिको कार्यावधि आउँदो २७ गतेसम्मका लागि थप गरेको छ ।

संविधानसभाको मंगलबारको बैठकले नियमावलीमा उठेका दुई÷तीनवटा विषयमा रहेको विवाद टुङ्ग्याउन बाँकी रहेको तथा छपाइलगायतका प्राविधिक काम सक्नेसमेत समय अपुग भएको भन्दै सो समितिको म्याद थपेको हो ।

संविधानसभा नियमावली मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको समय थपसम्बन्धी प्रस्ताव आजको संविधानसभा बैठकमा पेस गरेका थिए । सो प्रस्तावलाई सभाध्यक्ष सुवास नेम्वाङले निर्णयार्थ प्रस्तुत गर्दा सभाले स्वीकृति दिएको थियो ।

पहिलोपटक फागुन १० गतेसम्म समयावधि पाएको नियमावली मस्यौदा समितिले उक्त समयमा काम पूरा गर्न नसकेपछि हप्ता दिनका लागि समय थपिएको थियो । तर सो अवधिमा पनि संविधान प्रमाणीकरण तथा जारी, संविधानभित्र दबावमूलक समूह (ककस) गठन र ह्वीपलगायतका विषयमा सहमति जुट्न नसकेपछि यही फागुन १७ गतेदेखि लागू हुनेगरी मंगलबार समयावधि थपिएको हो ।

‘कपितय विषयमा रहेका विवाद टुङ्ग्याउन पनि बाँकी छ भने नियमावली छपाइलगायतका काम गर्न पनि केही समय लाग्ने भएकाले समय थपका लागि प्रस्ताव गरेको छु,’ नियमावली मस्यौदा समितिका सभापति कर्णले भने ।

सो बैठकमा सभाध्यक्ष नेम्वाङले संविधानसभामा द्रुतगतिमा संविधान निर्माणको प्रक्रियालाई अघि बढाउनु पर्ने बताए । अघि बढ्ने मुख्य आधार भनेको नियमावली भएकाले नियमावली जसरी पनि टुङ्गोमा पुग्नुपर्ने उनको भनाइ थियो ।

‘नियमावलीको लागि फागुन २७ गतेसम्मका लागि समय तोकेको छौं, मलाई विश्वास छ यो आवश्यकता र अपरिहार्यतालाई महसुस गरेर यो अवधिमा नियमावलीलाई टुङ्गोमा पु¥याउँनेछौ,’ सभाध्यक्ष नेम्वाङले भने । संविधानसभाको अर्को बैठक फागुन २९ गते ११ बजे बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us