विद्यालय भवन नहुँदा रुखमुनि पठनपाठन

काठमाण्डु टुडे २०७० फागुन २० गते ७:०३ मा प्रकाशित

कञ्चनपुर, २० फागुन – कञ्चनपुरको देखतभूली–६ बसन्तपुरमा रहेको सिद्धनाथ प्राथमिक विद्यालयमा भवन अभावका कारण विद्यार्थीलाई रुखमुनि राखेर पढाउने गरिएको छ ।

अधिकांश दलित र जनजातिका बालबालिका मात्रै अध्ययन गर्ने विद्यालयमा दुईकोठे पक्की र दुईकोठे अर्धपक्की भवन मात्रै रहेका छन् ।

भवनको तुलनामा विद्यार्थीको सङ्ख्या अधिक हुँदा विद्यार्थीलाई नजिकैको सामुदायिक वन छेउका रुखमुनि राखेर पठनपाठनको कार्य हुँदै आएको विद्यालयका शिक्षक कर्णबहादुर भण्डारीले बताए । देखतभूली गाविसको रु पाँच लाखको सहयोगमा दुई वर्षअघि दुईकोठे भवन निर्माण गरिएको थियो ।

दुईकोठे अर्धपक्की भवन स्थानीयले श्रमदान गरी बनाएका थिए । निर्माण भएका कक्षा कोठामध्ये एउटामा कार्यालय राखिएको छ । कक्षा ३, ४ र ५ का विद्यार्थीलाई कक्षा कोठामा राखेर पठनपाठनको कार्य गरिँदै आए पनि कक्षा १, २ र शिशु कक्षाका विद्यार्थीलाई रुखमुनि राखेर पढाउनुपर्ने बाध्यता रहेको भण्डारीले बताए ।

‘चर्को घाम, बढी चिसो र वर्षात्का बेला कक्षा कोठाको अभावमा कक्षा १, २ र शिशु कक्षाका बालबालिकालाई बिदा दिँदै आएका छौँ’, उनले भने ।

अभिभावकहरुको आर्थिक अवस्था कमजोर भएकाले चन्दा सङ्कलन गरेर भवन निर्माण गर्ने अवस्था नरहेको उल्लेख गर्दै विद्यालयका प्रधानाध्यापक रमा पन्तले भनिन्, ‘गाविस, जिविस र शिक्षा कार्यालयलाई भवन निर्माणका लागि रकम विनियोजन गर्न भन्दै आग्रह गरेका छौँ ।’

विद्यालयमा बस्नका लागि पर्याप्त फर्निचर नहुँदा बालबालिकाले घरबाट आउँदा बोरामा पराल बोकेर ल्याउने र विद्यालय बिदा भएपछि बोरासहितको पराल बोकेर घर लैजाने गरेका छन् ।

विद्यालयमा कार्यरत पाँच जना शिक्षकमध्ये दुई जना राहत कोटा, दुई जना निजी र एक जना बाल विकास सहयोगीका रुपमा रहेका छन् । विद्यालयमा दुई सयभन्दा बढी बालबालिका अध्ययनरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us