भारत–चीन सडक निर्माणको अवरोध खुल्यो

काठमाण्डु टुडे २०७० फागुन २० गते ४:१७ मा प्रकाशित

Roadसङ्खुवासभा, २० फागुन – विगत एक वर्षदेखि अवरुद्ध कोसी राजमार्गको विवाद मिलेपछि भारत–चीन जोड्ने सो सडक निर्माणको बाटो खुलेको छ ।
आफूहरुले भनेको ठाउँबाट सडक नखने सडक निर्माण कार्य अघि बढ्न नदिने भन्दै सडक निर्माणका सम्पूर्ण सामग्री कब्जामा लिई आन्दोलनमा उत्रेका पाथिभरावासीले हेदाङ्ना गढीबाट जमुनेपोखरी, धारा, गोलेचौर, मानेडाँडा हुँदै पाथिभरा बजारलाई लक्षित गरी नयाँ रिङ्रोड खोल्न जिल्ला प्रशासन कार्यालय र सडक विभागले विभागीय स्वीकृतिका लागि पहल गर्ने जनाएपछि नयाँ ट्र्याकबाट सडक निर्माण गर्न सहमति जनाएका हुन् ।
‘पाथीभरा बजारमा नयाँ रिङ्रोड बनाइदिने निर्णय भएपछि हामी सडक निर्माण कार्यलाई अगाडि बढ्न दिन राजी भएका हौँ’– आन्दोलन समितिका संयोजक सलबहादुर गुरुङले भने ।

भारतको जोगवनीदेखि सङ्खुवासभाको सदरमुकाम खाँदबारी हुँदै चीनको सीमावर्ती गाविस किमाथाङ्कासम्मको २७६ किलोमिटर कोसी राजमार्ग निर्माण कार्यमा पुरानो ट्र्याकअनुसार सडक निर्माण गरे पाथिभरा क्षेत्रमा चार वटा चट्टाने भिर फोर्नुपर्ने र तेब्बर खर्च आउने भन्दै सडक विभागले पुरानो सर्भेबाट सडक नलाने भनेपछि पाथीभरावासी आन्दोलनमा उत्रेका थिए ।
यस क्रममा उनीहरुले आन्दोलन समिति नै बनाएर पुरानै सर्भेबाट सडक लानुपर्ने भन्दै सडक विभागका सामग्री कब्जामा लिई एक वर्षदेखि सडक निर्माण कार्यमा अवरोध गर्दै आएका थिए ।

जिल्ला प्रशासन कार्यालयको पहलमा सडक निर्माणका लागि आन्दोलनरत पक्ष राजी भएपछि एक वर्षबाट अवरोध कोसी राजमार्गको निर्माण कार्य सुचारु भएको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए ।

उनले भने, ‘भारतको जोगवनी र चीनको तिब्बत जोड्ने निर्माणाधीन कोसी राजमार्ग सङ्खुवासभा जिल्लाको मात्र नभएर समग्र पूर्वाञ्चलवासीको भविष्यसँग जोडिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us