दुई विदेशीले नेपालीबाट लाखौँ ठगे

काठमाण्डु टुडे २०७० फागुन २० गते ४:१३ मा प्रकाशित

paisa1चितवन, २० फागुन – दुई जना विदेशीले चितवनलगायत विभिन्न जिल्लाका युवासँग लाखौँ रकम ठगेको खुलासा भएको छ । मलेसियामा जागिर लगाइदिने भन्दै उनीहरुले नेपालीलाई ठगेका हुन् ।

चितवन, नवलपरासी र कास्कीका १११ जनाभन्दा बढी युवासँग करिब रु ७५ लाख ठगेर उनीहरु बेपत्ता भएको पीडित युवाले बताएका छन् ।
मलेसियाका नुरुत तोजा र पाकिस्तानी नागरिक मोहम्मद खान नेपाल आई यसरी रकम ठगेर  बेपत्ता भएका हुन् ।

ठगिनेमा चितवनका मात्रै ५४ जना छन् । अन्य पोखरा र नवलपरासीका रहेका छन् । ५० हजारदेखि लाखौँ रकम उठाएर उनीहरु बेपत्ता भएको भरतपुर चितवनका योगेश थापाले बताए ।

उनले आफ्नो तीन दाजुभाइबाट दुई लाख लगेको बताए । माघ अन्तिम सातासम्म उनीहरु पैसा उठाउँदै विभिन्न जिल्लामा बसेको भए पनि अहिले भने बेपत्ता भएको थापाको भनाइ छ । आफूहरु ठगिएको थाहा पाएपछि ती युवा कहिले प्रहरी कार्यालय र कहीले पत्रकारहरुलाई दुखेसो पोख्न भौँतारिन थालेका छन् ।

ठगहरुले गाउँका युवालाई मलेसियाको कम्पनीमा आकर्षक तलब दिनेगरी जागिर लगाइदिन्छु भन्दै पैसा उठाएको पीडितहरुले बताएका छन् ।

ती ठगहरुलाई पक्राउ गरी रकम असुलीको मागसहित अफूहरुले हालै हनुमानढोका प्रहरीमा उजुरीसमेत दिएको पीडित विजय विकले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us