कोइरालालाई भुटानी प्रधानमन्त्रीले भने ‘शरणार्थी समस्याबारे हामी हेर्छौ ’

काठमाण्डु टुडे २०७० फागुन २० गते १:२९ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २० फागुन । प्रधानमन्त्री सुशील कोइरालाले दुई दशकभन्दा लामो समयदेखि नेपालमा आश्रय लिइरहेका भुटानी शरणार्थीको फिर्ती प्रक्रियालाई चाँडो निष्कर्षमा पुर्यानुपर्नेमा जोड दिएका छन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को तेस्रो शिखर सम्मेलनमा प्रधानमन्त्री कोइरालाले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलाई भेटेर शरणार्थी समस्या शीघ्र समाधान गर्नुपर्ने नेपालको धारणा राखेका हुन् ।

भुटानी प्रधानमन्त्रीसँगको भेटवार्तापछि कोइरालाले शरणार्थी समस्या अन्त्यन्त जटिल बन्दै गएको र उनीहरूको मातृभूमि फर्कने उत्कट चाहना पूरा गर्न भुटानको रचनात्मक सहयोग अपरिहार्य भएकोतर्फ आफूले भुटानी प्रधानमन्त्रीको ध्यान आकर्षित गरेको बताए ।

“शरणार्थीका धेरै सन्तान तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत विदेश गइसकेका तर तिनका वृद्ध मातापिता शरणार्थी शिविरमा नै रहेकाले उनीहरूलाई ससम्मान घर फिर्तीको व्यवस्थाका लागि मैले अनुरोध गरें”, भुटानी पक्षबाट शरणार्थी फर्काउनेबारेमा सकारात्मक जवाफ आए पनि त्यो कार्यान्वयन नभएकाले त्यसतर्फ गम्भीर भइदिन आफूले आग्रह गरेको कोइरालाले बताए ।

नेपालको अनुरोधलाई सकारात्मक रुपमा लिँदै भुटानी प्रधानमन्त्रीले “हामी हेर्छौं” भन्ने जवाफ दिएका थिए ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us