प्रधानमन्त्रीको अभिव्यक्तिको सदनमा आलोचना

काठमाण्डु टुडे २०७० फागुन १९ गते १२:१५ मा प्रकाशित

Biccकाठमाण्डु, १९ फागुन – टनकपुर बाँधबारे प्रधानमन्त्री सुशील कोइरालाले दिएको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले चर्को आलोचना गरेको छ ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै एमाओवादी सभासद जनार्दन शर्मा प्रभाकरले टनकपुर भारतीय भूमि भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति बारे प्रष्ट पार्न माग गरे ।

‘यस किसिमको समाचार सञ्चार माध्यमहरुमा आएको छ,’ शर्माले भनेका छन्, ‘यो राष्ट्रिय महत्वको विषय भएकाले सरकारले आफ्नो धारणा सदनलाई जानकारी गराओस् ।’

त्यस लगतै सरकारलाई विशेष रुलिङ गर्दै सभामुख सुवास नेम्वाङले यसबारे अर्को बैठकमा प्रष्ट पार्न सरकारलाई निर्देशन दिएका छन् ।

साथै बैठकमा गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारीको अनसनबारे पनि कुरा उठेको छ । सभासद अर्जुननरसिंह केसीले एक सय २९ दिनदेखि आमरण अनशनमा बसिरहेका अधिकारी दम्पत्तिको जीवन रक्षाका गर्न सरकारसँग माग गरे ।

सयभन्दा बढी दिनदेखि अनसन जारी रहेपनि समस्या समाधानका लागि पहल नगर्नु सभ्य समाजका लागि लज्जाको विषय भएको भन्दै केसीले यसबारे यथार्थ के हो, जानकारी गराउन माग गरे ।

त्यस पश्चात रुलिङ गर्दै सभामुख सुवास नेम्वाङले यसबारे आगामी बैठकमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us