डन आरोपमा थुनिएका बम भन्छन्, ‘रमेश खरेल महाडन हुन्’

काठमाण्डु टुडे २०७० फागुन १७ गते ४:०३ मा प्रकाशित

wakil Bom1मेरो नाम वकिलबहादुर बम हो । २२ वर्षको भएँ । मेरो घर कालिकोट थिर्क गाविस– ३ हो । बुबा जनकबहादुर सामान्य किसान हुनुहुन्छ ।

१७ वर्षको उमेरदेखि पाँच वर्षयता काठमाण्डुमा रेष्टुरेष्ट व्यवसाय गर्दै आएको छु । मलाई काठमाण्डु प्रहरीले पक्रन खोजेको छ भन्ने सुनें ।

त्यसपछि एसएसपी रमेश खरेललाई टेलिफोन गरेर आफूलाई किन पक्रन खोजिएको हो भन्नेबारेमा जान्न खोजें । मैले म सामान्य मान्छे हुँ । व्यवसाय गरेर खाइरहेको छु । किन पक्रन खोज्नुभएको हो । म आफैं तपाईंकोमा आउन पनि सक्छु पक्रन प्रहरी पठाउनु पर्दैन भनें ।

उनले ठीकै छ फोन गरेर राम्रो गर्नुभयो । आवश्यक परेको खण्डमा बोलाउँछु भने । त्यसपछि म घरबाट रेष्टुरेण्ट जान हिंडे । यो फागुन ६ गतेको कुरा हो ।

रातिको नौ बजेको थियो । ठमेलको काठमाण्डु गेष्ट हाउस अगाडि बाटोमा हिंड्दै थिएँ । १० जनाजतिको समूहमा रहेका ननिचेनका मान्छेहरुले अपहरणको शैलीमा नियन्त्रणमा लिए र निजी पजोरोमा राखे । उनीहरु सबैले मुकुण्डो लगाएका थिए । अपहरणमा परेको आशंका गरें ।

रातिको समयमा कसले किन यसरी लगिरहेको छ भन्ने अनुमान समेत गर्न सकिनँ । गाडी अगाडि बढेपछि मैले तपाईंहरु को हो ? मलाई किन समाउनु भएको भनेर सोधें । उनीहरुले खरेल सरको आदेश भने । खरेलको नाम लिएपछि प्रहरी रहेछन् भन्ने थाहा भयो । हनुमान ढोका पुर्‍याएर हिरासतमा राखियो ।

मेरो साथमा रहेको मोबाइल खोसियो । आफू हिरासतमा रहेको खबर परिवारमा दिन्छु भन्दासमेत फोन गर्न दिइएन । तीन दिनसम्म सोधपुछ पनि भएन । तेस्रो दिन सोधपुछ भएपछि मात्र थाहा भयो मलाई गुण्डागर्दी, अपहरण र व्यापारीलाई धम्क्याएर जवर्जस्ती चन्दा असुली गरेको जस्ता आरोपमा समातिएको रहेछ ।

मेरो गिरफ्तारी गैरकानुनी थियो किनकी पक्राउ गर्नुअघि के कारण पक्रन खोजिएको हो भन्ने जानकारी गराउनु पर्ने हो । त्यो केही भएन । मजस्ता अरु १ सय ८५ जना युवाहरु गुण्डागर्दीको आरोपमा समातिएका रहेछन् । तीमध्ये केही गुण्डाहरु थिए, बाँकी अधिकांश निर्दोष थिए ।

बयान लिएकै दिन छातीमा गुण्डागर्दी लेखेर फोटो खिच्न खोजियो । मैले आफू गुण्डा नभएको भन्दै प्रतिवाद गरें । आफ्नो काम गरेर खाने सोझासाझा मान्छेलाई किन प्रहरीले जवर्जस्ती गुण्डा आरोपमा पक्राउ गर्छ भनेर तीन छक परें । लोकेन्द्र पण्डित नाम गरेका सईले मेरो बारेमा अनुसन्धान गरेका थिए । अनुसन्धानपछि उनले मेरो बारेमा खराब रिपोर्ट केही पत्ता नलागेको बताए ।

उनले खरेल सरको ठाडो आदेशमा पक्राउ गरिएको हो, तर केही पत्ता लागेन भने । रमेश खरेलले गुण्डागर्दी नियन्त्रणका लागि चालेको कदम सही हो । म पनि त्यसको समर्थन गर्छु । तर गुण्डागर्दी नियन्त्रणका नाममा बिनाकारण निर्दोष व्यक्तिहरु समातेर दु:ख दिनु राम्रो होइन ।

के उनले निर्दोषलाई अकारण थुनेर आफू महाडन बन्न खोजेका हुन ? म पक्राउ परेको आठौं दिनका दिन रमेश खरेल हिरासतमा आए । मेरो नाम लिएर वकिल बम भन्ने को हो भनेर सोधे ? मँ हुँ भने । सामान्य मर्यादासमेत नराखेर अपराधीलाई जसरी तँमाथि के अभियोग छ रे भने । मैले सार्वजनिक अपराधको अभियोग लगाइएको, तर आरोप लगाइएजस्तो मैले केही नगरेको बताएँ । उनले नराम्ररी थर्काए । तँ कानुन हातमा लिन खोज्ने ?

राति २ बजे ठमेलमा मान्छे कुट्दै हिंड्ने ? रमेश खरेल अरु पुलिसजस्तो होइन बुझिस् ? जसलाई ढाँट्न सक्छु भन्ने नठान् । यस्तै धेरै कुरा गरे । मैले आफुमाथि लागेको आरोप गलत रहेकाले त्यसलाई पुष्टि गरेर देखाउन चुनौती दिएँ । उनी गए । त्यही दिन तीन हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटें ।

wakil Bom

रमेश खरेल डनहरुलाई फ्याउरेहरु भन्दा रहेछन् र डन भनेको आफूजस्तो हुनुपर्छ भन्दा रहेछन् । नेपाल प्रहरीमा खरेलजस्ता थुप्रै अधिकृत छन् । तर उनी आफूजस्तो कोही नभएको हाकाहाकी दाबी गर्छन् । के प्रहरी भनेकै रमेश खरेल र रमेश खरेल भनेकै प्रहरी हो र ? प्रहरीले काम गर्ने हो मिडियामा हल्ला गर्दै हिंड्ने होइन ।

नेपालका मिडियाको पनि काम छैन कि के हो ? सुस्ता लुटिएको बारेमा कसैले समाचार लेख्छ ? महाकाली नदीको पानी हामी नेपालीले एक लोटा खान पाउँदैनौं त्यसबारे समाचार आएको थाहा छ ? तर एक्लो रमेश खरेल महान र बाँकी सबै प्रहरी पत्रु भनेजसरी प्रचार गर्ने ? खरेलले सक्छन् भने बालकृष्ण ढुंगेल र कालिबहादुर खामहरु आज कहाँ छन् ? उनीहरुलाई समाउनुस् खरेल साब । जीवनभर तपाईंको भजन गाएर हिंड्छु ।

तर निर्दोषलाई डनको आरोपमा समातेर डनको अन्त्य गर्ने होइन, बरु धेरै डनहरु जन्माउने काम गरिहरनुभएको छ । दीपक मनांगे डनको आरोपमा समातिए । हो उनी कुनै समय डन थिए । तर आज छैनन् । व्यापार–व्यवसाय गरेर बसेका छन् । अभियोगहरुबाट सफाई पाइसकेको मान्छेलाई आफू सल्लाहकार रहेको टिमको फुटबल हेर्न गएका बेला रंगशालाबाट पक्रनु कुनै बहादुरी हो ? सक्नेले त फरार अपराधीहरु समाते हुन्छ नि ।

बाघे लामा कुनै जमाना डन थिए । अहिले सुध्रिइसके । विगत ८–१० वर्षयता बाघेको समूहले कसैमाथि आक्रमण गर्‍यो, लुटपाट गर्‍यो, चन्दा माग्यो, ग्याङ फाइट गर्‍यो भन्ने समाचार कतै आएको छ ? तर उनलाई डनको आरोपमा पक्राउ गरिएको छ ।

त्यसमाथि पहिला आफैं बाघे आयोजक रहेको सार्वजनिक कार्यक्रममा अथिति भएर जाने । कार्यक्रम सकिएपछि नारिएर तस्विर खिचाउने अनि कुने पत्रकारले फोन गरेर डनसँग फोटो खिचाउनु भएछ नि भनेपछि पक्रन पुलिस खटाउने ? पछि पक्रनु थियो त डन आयोजक रहेको कार्यक्रममा भाषण ठोक्न किन जाने ? सँगै बसेर किन फोटो खिचाउने ? यो जस्तो नौटंकी अरु केही हुन्छ ? हरेक मानिसले जीवनमा कुनै न कुनै गल्ती गरेको हुन्छ । प्रहरीको काम गल्तीबापत कानुनी सजाँय दिलाउने र उसलाई सही बाटोमा ल्याउने हो ।

तर खरेलले त निर्दोषलाई पनि जवर्जस्ती अपराधी बनाउने खेती गरिरहेका छन् । उनको यस्तो काइदाले समाजबाट डनहरुको अन्त्य होइन, महाडनहरुको जन्म गराउन सक्छ । अनावश्यक दु:ख पाएपछि राम्रा मान्छे पनि बाध्य भएर खराब काममा लाग्न सक्छ । त्यस्ता उदाहरणहरु पनि प्रसस्तै छन् । मलाई शंका छ तपाईंको अनलाइनमा मेरो भनाइ आएपछि खरेलले फेरि पक्रन प्रहरी पठाउन सक्छन् । के यसरी सभ्य समाजको निर्माण गर्न र समाजमा रहेको विक्रिति हटाउन सकिन्छ ?
(बम एमालेसम्बद्ध युथफोर्स केन्द्रीय सदस्य र अनेरास्ववियु राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् ।)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us