
एमाले एउटा कम्युनिष्ट पार्टीका रुपमा सकिएको धेरै भयो । अब त यो एउटा बुर्जुवा पार्टीका लागि चाहिने न्युनतम पार्टी पद्धति र आधारभूत चरित्रबाट पनि स्खलित हुँदैगएको छ भन्दा अत्युक्ति नहोला । त्यसका लागि नजीर खोज्न टाढा जानै पर्दैन, पछिल्लोपटक सुशील कोइराला सरकारमा जानका लागि यस पार्टीले गरेका अनि देखाएका गतिविधिहरुलाई बिना आग्रह पूर्वाग्रह हेर्यो भने मात्रै पनि यसको पछिल्लो चरित्र घामजत्तिकै छर्लंग हुन्छ ।
घुर्की, धम्की, नाटक जे जे गरेर भए पनि अन्ततः एमाले सत्तामा पुग्यो । यसबाट एमालेले १० थान मन्त्री पायो, बामदेव कमरेडले गृहमन्त्रालयसहितको उपप्रधानमन्त्रीको ह्याट्कि गरे । अन्ततः गुटको गणित मिलाइयो । एमालेका तर्फबाट समावेस मन्त्रीका नाम हेर्यो भने नौनारी गलेर आउँछ । १० जनामा ओली गुटका चार, खनाल गुटका तीन र गौतम गुटका तीन । नेपाल रिसाएर बाहिरिए, हिस्सी बुढी डि.च्च दातको अवस्थामा पुगे उनी । अहिले उनकै गुटका मान्छे बेकारमा भाउ खोजेर दुईटा मन्त्री बन्ने अवस्था पनि गुमाइदिए भनेर नेपालतिरै धारे हात लगाइरहेको खासखुस सुन्नमा आउको छ । यो पल्टन हेर्दा १० मा ४ मात्र चुनाव जितेका । अरु, हारेका या जनताले चुन्दै नचुनेका । एमालेमा मन्त्री हुन देखाउनलाई त सम्बन्धित क्षेत्रको विज्ञ, प्रत्यक्ष चुनाव जितेको र क्षेत्र, भूगोल, लिंग के के आधार भनियो । तर, यथार्थमा गुटको खासा जोजोम्यान र चुनावमा नचुनिनु नै आधार बनाइयो । एमालेमा चुनाव जित्नु त अपराधजस्तै भयो, त्यसमा पनि दुईदुईपटक जित्नु त अपराध नै । त्यही अपराधका शिकार भए मेरा अनन्य मित्रहरु गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, डम्बरध्वज तुम्वाहाम्फे ।
यतिबेला खै त एमालेमा विवेक ? भनेर सोध्नु भनेको उनीहरुको पोलिरहेको घाउमा नुन चुक लगाउनु नै हो । मित्रहरु, यसमा म तपाईहरुको केही दोष देख्दिन । दोषी मात्र हैन, अपराधी त ती मतदाता हुन् जसले तपाईहरुलाई मतदान गरेर पटक पटक जिताएर तपाईहरुको पार्टीलाई दोस्रो पार्टीका रुपमा बार्गेनिंग गर्ने हैसियतमा उकाले । यसो भन्दा अंकगणितमा मात्र विश्वास गर्ने एमाले मित्रहरु रिसाउँने मात्र हैन ज्यामितीय विकासक्रमको पटक्कै ज्ञान नभएकाहरु त खनिन्छन् नै । उनीहरुको सदावहार तर्क हुन्छ, मन्त्री बन्नु मात्रै राजनीतिको अभीष्ट हैन । हो, यो पनि सोह्रैआना सही हो, तर वामदेवका लागि एउटा मापदण्ड र यी तीनजनाका लागि अर्को मापदण्ड लागू नहुनुपर्ने भन्ने मात्र हो । यी तीनजना त प्रतीकमात्र हुन् एमालेमा, यस्ता थुप्रै खाँटी एमालेहरु गुट गणितको शिकार भएका छन् । अरु पनि प्रश्न छन्, तर मूलप्रश्न कतिपटक वामदेव गृहमन्त्री भएपछि अर्को कुनै देवको पालो आउँछ एमालेमा ?
मित्रहरु, मैले नुनचुक आफैंसँग राखें । पार्टीमा हुनेको आफ्नो पीडा, नहुने हामीजस्ताको अर्को पीडा । हुनु भनेको छुनसम्म मिल्ने हो, नहुनु भनेको त अछुत नै हो । मुलुकका लागि जानेको केही गर्ने मौका देऊ न भन्दा उनीहरुले केमा विज्ञता छ भनेर सोध्दैनन् । सोध्ने एउटै प्रश्न हो, संगठित सदस्यता छ कि छैन ? त्यो नभएपछि नेपालमा अवसरको ढोकामा आग्लो लाग्छ अनि सके झिटीगुन्टा बोकेर मुलुक छोड्नुपर्छ, नसके गौडा गौंडामा नीलो पीडाको डाम छाँम्दै बस्नुपर्छ । आगे उनीहरु नै जानुन् ।