निर्धारित मितिमा नियमावली नबन्ने संकेत

काठमाण्डु टुडे २०७० फागुन ९ गते २:४८ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– संविधानसभाले दिएको समयसीमा सकिन एक दिन मात्र बाँकी छँदा संविधानसभा कार्यसञ्चालन नियमावली मस्यौदा ca houseतयार गर्न गठित समितिको बैठक आज पनि बस्दैछ ।
सचिवालयले  तयार पारेको मस्यौदामा समिति सदस्यहरुबीच मतभेद भएपछि समितिले तोकिएकै समयमा काम सक्ने सम्भावना कम भएको छ । संविधानसभाले १० दिनको समय दिएर गठन गरेको समितिको अवधि शनिबार सकिंदैछ ।

यसअघि हिजोको बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रावधानमा विवाद भएपछि समितिको बैठक आज पुन: बस्न लागेको हो । बैठक अपराह्न तीन बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा विवादित विषयलाई परिमार्जनसहित पेश गरिने संसद सचिवालयले जनाएको छ । समितिले विघटित संविधानसभाले गरेका कामको स्वामित्व लिनका लागि संविधानसभामा छुट्टै विषयगत समिति बनाउन प्रस्ताव गरेको छ । समितिले विषयगत र प्रक्रियागत गरी ६ वटा समिति प्रस्ताव गरेको छ ।

अघिल्लो संविधानसभामा रहेको संवैधानिक समिति खारेज गरी यसपटक मस्यौदा समिति प्रस्ताव गरिएको छ । समिति संयोजक लक्ष्मण लाल कर्णले विषयगत समितिअन्तर्गत अभिलेख निर्धारण समिति बनाएर त्यसमार्फत अघिल्लो संविधानसभामा सहमति भएका र नभएका विषय समावेश गरी संविधानसभामा पेश गरिनेछ ।

मस्यौदामा प्रक्रियागत समितिमध्ये नागरिक सम्बन्ध समिति खारेज गरी जनमत संकलन तथा समन्वय समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति कायम राख्ने प्रस्ताव गरिएको छ ।

यस्तै विषयगत समितिमध्ये अभिलेख निर्धारण समिति,  विवाद समाधान समिति, राजनीतिक संवाद समिति र मस्यौदा प्रस्ताव समिति प्रस्ताव गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us