‘गृह विवाद मिलाउने बल सुशीलको हातमा’

काठमाण्डु टुडे २०७० फागुन ८ गते १६:५० मा प्रकाशित

काठमाण्डु ८ फागुन–एकीकृत माओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराईले गृहमन्त्रालयका बारेमा काँंग्रेस र एमाले वीचको विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्री सुशील कोइरालाको हातमा रहेको बताएका छन ।

सामाजिक सञ्जाल फेसबुक मार्फत बिहिबार राती सार्वजनिक आफनो अभिमतमा नेता भट्टराईले त्यस्तो धारणा व्यक्त गरेका हुन । baburam_250
‘प्रधानमन्त्री निर्वाचित भइसकेपछि अव बल सुशील कोइरालाजीको हातमा छ। उहाँले आफनो नेतृत्व क्षमता देखाउनु पर्छ’पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले भनेका छन ‘दुइ पटक सरकारको नेतृत्व गर्दा एमाओवादीले गृहमन्त्रालय लिएन । तर अहिले काँग्रेस र एमाले गृहमन्त्रालय नपाए आकाशै खस्ने जुन कुरा गरिरहेका छन त्यो बुझिनसक्नु भएको छ ।’

एमाओवादीका तर्फबाट भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेका दुईवटा सरकार बनेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा एमालेका उपाध्यक्ष बामदेव गौतम गृहमन्त्री थिए भने भट्टराई नेतृत्वको सरकारमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छादार गृहमन्त्री थिए ।
आफनो पार्टी राष्ट्रिय सहमतिको सरकार बाहेक अरु कुनै पनि सरकारमा अहिले सहभागी नबन्ने र बन्न नहुने धारणा पनि भट्टराईले व्यक्त गरेका छन । ‘अरु सबै अनुमान र हल्ला निराधार हुन’भट्टराईले भनेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us