सभाध्यक्षमा नेम्वाङलाई सघाउने काँग्रेस निर्णय

काठमाण्डु टुडे २०७० फागुन ५ गते ६:१९ मा प्रकाशित

subasकाठमाण्डु, ५ फागुन– नेपाली काँग्रेसले सभाध्यक्ष चयनका लागि व्यवस्थापिका–संसदमा मंगलबार हुने निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मदतान गर्ने भएको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय समिति बैठकले सातबुँदे सहमतिको भावनाअनुसार एमाले उम्मेदवार नेम्वाङका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

‘हामी सातबुँदे सहमतिमा प्रतिबद्ध छौं’, बैठकपछि बिनाविभागीय मन्त्रीसमेत रहेका नेता रामशरण महतले भने, ‘सातबुँदे सहमतिअनुसार सभामुखको निर्वाचनमा एमालेका उम्मेदवरलाई मतदान गर्ने निर्णय भएको छ ।’

सुशील कोइरालाको नेतृत्वमा वर्तमान सरकार बन्नुअघि काँग्रेस–एमालेबीच भएको सातबुँदे सहमतिमा काँग्रेसले सभाध्यक्षमा एमाले उम्मेदवारलाई सघाउने उल्लेख छ ।

यसैबीच काँग्रेसले गृहमन्त्री एमालेलाई नदिने अडान पुन: दोहोर्‍याएको छ । महतले गृहमन्त्री प्रधानमन्त्रकै दलले राख्ने प्रचलन रहेकाले एमालेलाई दिन नसक्ने बताए ।

काँग्रेस निर्णयको पूर्ण पाठ यस्तो छ

प्रेस विज्ञप्ति

फागुन ५, २०७०

नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाज्यूको अध्यक्षतामा नेपाली कांग्रेस संसदीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । संसदीय समितिको बैठकले देहायको निर्णय गरेको छ । १. नेपाली कांग्रेसका सभापति श्री सुशील कोइराला र नेकपा (एमाले) का अध्यक्ष श्री झलनाथ खनाल बीच मिति २०७० माघ २६ मा भएको ७ वुँदे सहमतिलाई यो बैठक अनुमोदन गर्दछ । सो सहमतिमा समावेश वुँदाहरुको कार्यान्वयनमा प्रतिवद्ध रहँदै भोलि फाल्गुण ६ गते हुन लागेको संविधानसभा अध्यक्ष/व्यवस्थापिका संसद सभामुख पदका लागि नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दछ । साथै, सहमति पत्रको सातौँ वुँदाप्रति ध्यानाकर्षण गर्दै मन्त्री परिषद्‌मा अविलम्व समावेश हुने अग्रसरता लिन नेकपा (एमाले) लाई आग्रह गर्दछ ।

२. हिजो नेपाल एयरलाइन्सको ट्विनेटर विमान दुर्घटना र त्यसमा रहेका चालक दल एवं यात्रुहरुको अज्ञात अवस्था बारे यो बैठक गहिरो चिन्ता व्यक्त गर्दछ र सो दुर्घटनाको अविलम्व खोजतलास र उद्धार कार्यका लागि सरकारलाई अनुरोध गर्दछ ।

३. नेपाली कांग्रेस झापाका पूर्व सांसद श्रीमती चेतकुमारी दाहालको असामयिक निधनप्रति यो बैठक गहिरो दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

 

 

प्रदीप पराजुली

 

सचिव

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us