पर्वतारोहण संघमा तीन दलबीच सहमति

काठमाण्डु टुडे २०७० फागुन ३ गते ४:५६ मा प्रकाशित

NMA 1काठमाण्डु फागुन–नेपाल पर्वतारोहण संघ (एनएमए)को नेतृत्व चयनका लागि काँग्रेस, एमाले र एकीकृत माओवादी निकट व्यवसायीहरुबीच सहमति भएको छ ।

पर्वतारोहण पर्यटनका विज्ञ मानिने आङछिरिङ शेर्पाको नेतृत्वमा संघको आगामी नेतृत्व चयनका लागि सहमति भएको हो ।

व्यवसायिक हकहितका लागि फुटेर होइन जुटेर काम गर्न सकिन्छ भन्ने मान्यताका आधारमा उनीहरुले संयुक्त प्यानल बनाएका हुन् । प्रथम उपाध्यक्षमा शान्तवीर लामा, द्वित्तिय उपाध्यक्षमा दिवश विक्रम शाह, महासचिवमा ठाकुरराज पाण्डे, सचिवमा बिमल नहर्की र कोषाध्यक्षमा टिका गुरुङलाई उम्मेदवार बनाउने सहमति तीन दलबीच भएको छ ।

आगामी ९ गते हुने निर्वाचनमा संयुक्त प्यानलले सन २०१४ मा हुने चोयु हिमालको हिरक महोत्सव, सन २०१५ मा हुने कञ्चनजंघा र मकालु हिमालको हिरक महोत्सव,सन २०१६ मा हुने मनास्लु र लोत्से हिमालको हिरक महोत्सवमा भब्यतापूर्वक मनाउन विश्वमा रहेका पर्वतारोहीहरुलाई नेपालमा आकर्षण गराउने योजना बनाएको छ ।

नेपालमा आठ हजार मिटर भन्दा अग्ला १६ वटा हिमाल छन । ती मध्ये हाल आठ वटा मात्रै अन्तराष्ट्रियस्तरमा परिचित छन । थप आठ वटा हिमालहरुलाई अन्तराष्ट्रिय रुपमा परिचित गराई पर्यटन क्षेत्रको बिकास र बिस्तार गर्ने संयुक्त प्यानलको योजना छ ।

जलवायु परिवर्तनको नकारात्मक असरले नेपालको हिमालय क्षेत्रमा देखिएका समस्या समाधानमा पहल गर्ने,पर्वतारोहणका लागि उपयोगी हिमालहरुको प्रोफाइल बनाएर पर्वतीय पर्यटनमा योगदान पुर्याउने, पर्वतीय पर्यटनमा दक्ष जनशक्ति उत्पादन, व्यवस्थापन र प्रबद्धनात्मक गतिबिधि सञ्चालन गर्ने, पर्वतीय पर्यटन विस्तारका लागि सरकारसँग मिलेर नीति र रणनीति बनाएर अघि बढ्ने प्रतिवद्धता संयुक्त प्यानलले व्यक्त गरेको छ ।

‘हामी कसैलाई काखा र कसैलाई पाखा गर्दैनौ, हामी पर्वतारोहण पर्यटन विकासका लागि पारदर्शी भएर सशक्त रुपमा अघि बढन सक्छौ’ शेर्पाले भने, ‘हामी हाम्रो कार्यकालमा केहि महत्वपूर्ण काम गरेर देखाउन सक्छौं ।’

महासचिवका  उम्मेद्वार पाण्डेले आफूहरु पर्यटन बिकासका लागि केहि गर्ने उद्देश्यका साथ अगाडि आएको बताए । उनले भने ‘तीन घण्टाको यात्रामा अचम्म लाग्दा मौसमका स्वाद नेपालमा पाइन्छ । अन्तराष्ट्रिय पर्वतारोहण स्कुल नेपालमा स्थापना गर्नु पर्ने छ ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us