प्रहरीका आफन्तले सुराकी कमिसन नपाउने

काठमाण्डु टुडे २०७० फागुन ३ गते १:४३ मा प्रकाशित

urlकाठमाण्डु, ३ फागुन – अवैध रुपमा बरामद भएको सामानमा अब प्रहरीले सुराकी भन्दै आफन्तको नाम राख्न नपाउने भएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले केही दिनअघि परिपत्र नै पठाएर आफन्त वा नजिकको मानिस र साथीहरुको नाम सुराकीमा उल्लेख गरे कमिसन रकम नै नपाउने प्रधान कार्यालयको निर्णय सुनाएका हुन् ।

नेपाल प्रहरीले अवैध रपमा नेपाल भित्रने विभिन्न सामग्री बरामद गरेबापत राजस्व विभागबाट पाउने कमिसनमा प्रहरी अधिकृतहरुले आफन्तको नाम राखेर सुराकीबापतको रकम लिन थालेपछि महानिरीक्षक अर्यालले सो परिपत्र गरेका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश केसीले वास्तविक सूचना दिने व्यक्ति नै सुराकी हुनुपर्छ भन्ने मान्यताका आधारमा निर्देशन दिइएको बताए । ‘केही बदमासी होला कि भन्ने आशंकामा महानिरीक्षकको सचिवालयबाट सुराकीको नाम यथार्थ राख्न निर्देशन दिइएको हो,’ प्रवक्ता केसीले भने ।

– राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us