बढ्दै छ यौनकर्मीको संख्या

काठमाण्डु टुडे २०७० फागुन १ गते ९:१८ मा प्रकाशित

सुर्खेत– सुर्खेतमा पछिल्लो छ महिनाको अवधिमा मात्रै झन्डै एकसय ५० यौन व्यवसायी महिलाको पहिचान भएको एक गैरसरकारी संस्थाले जनाएको छ ।

जिल्लामा एकीकृत एचआइभी र एड्स रोकथाम, हेरचाह र सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था समाज जागरण केन्द्र (स्याक) नेपालले पछिल्लो छ महिनाको अवधिमा मात्रै जिल्लाका विभिन्न गाविस र नगरपालिकामा गरी १ सय २० जना नयाँ यौन व्यवसायी महिलाको पहिचान भएको दाबी गरेको छ ।

पछिल्लो छ महिनाको नयाँ तथ्यांकअनुसार १ सय २० जना नयाँ यौन व्यवसाय थपिएपछि जिल्लामा यौन व्यवसायीको संख्या ६ सय १६ पुगेको एकीकृत एचआइभी र एड्स रोकथाम, हेरचाह र सहयोग कार्यक्रमका संयोजक चन्द्र बिकले जानकारी दिए ।

‘महिना नयाँ यौन व्यवसायीको पहिचान हुने गरेको छ,’ बिकले भने, ‘कतिपय सहजै खुल्ने गरेका छन्, नखुल्नेको संख्या अझ धेरै छ ।’

जिल्लाको एउटा नगरपालिकासहित विभिन्न गाविसका महिला यौन व्यवसायमा संलग्न रहेको संस्थाले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका, घुमखहरे, सहारे, मालारानी, राकम, दहचौर, मैनतडा, मेहेलकुना, गुमी, रामघाट, दशरथपुर, लेखफर्सा, छिन्चु, जर्बुटा, लाटीकोइली, उत्तरगङगा, बिजौरा, गुठु, विद्यापुर, सालकोट, बाबियाचौर, आग्रीगाउँ, बजेडी चौर र घोरेटा गाविसमा यौनकर्मी महिला भेटिएको संस्थाको दाबी छ ।

कार्यक्रमका संयोजक बिकले यौनकर्मी महिलाको संख्या बढ्दै गएको भन्दै त्यसमा पनि विवाहित महिला धेरै भएको जानकारी दिए । पछिल्लो छ महिनाको तथ्याङ्कमा मात्रै यौन व्यवसायमा संलग्नमध्ये विवाहित महिलाको संख्या ८७ छ भने अविवाहितको संख्या ३३ रहेको छ ।

यस्तो व्यवसायमा लागेकामध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्षसम्मका रहेको विकको भनाइ छ । गरिबी, पारिवारिक समस्या, श्रीमान्को व्यवहार, श्रीमान् घरमा नहुनुजस्ता विभिन्न बाध्यात्मक परिस्थितिका कारणले महिला यस पेसामा संलग्न हुने गरेको संस्थाको अनुमान छ । साथै द्वन्द्वपीडित, श्रीमान् विदेश गएका महिला, विद्यार्थी पनि यो पेसामा संलग्न रहेको संस्थाले बताएको छ ।

संस्थाले एचआइभी एड्स र अन्य यौन रोगको जोखिमलाई मध्यनजर गर्दै यौन व्यवसायीलाई यसबारे सचेत पार्ने तथा सुझाव दिने गरेको छ ।

संस्थाले असुरक्षित यौनसम्पर्कबाट बच्न सचेत गराएपछि उनीहरुले अहिले कन्डमबिना शारीरिक सम्बन्ध नराख्ने र महिना महिनामा जाँच गर्ने गरेका छन् ।

छ महिनाको अवधिमा ६७ जनाको रगतको निःशुल्क जाँच गरी उपचारका लागि सिफारिससमेत गरिएको संस्थाले जनाएको छ ।

पहिचान भएका यौनकर्मीमध्ये कसैलाई पनि एचआइभी पोजेटिभ भने नदेखिएको संस्थाले बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us