एमालेलाई गृह दिने सहमति भएको छैनः काँग्रेस

काठमाण्डु टुडे २०७० माघ २८ गते ५:४२ मा प्रकाशित

Dilendra-baduकाठमाण्डु, २८ माघ – नेपाली काँग्रेसले एमालेसँग सरकार गठनअघि सातबुँदे सहमति गर्दा गृह मन्त्रालय दिने सहमति नगरेको दाबी गरेको छ ।

प्रधानमन्त्रीको सपथ ग्रहण नहुँदै गृह मन्त्रालयको विषयलाई लिएर दुई दलबीच चर्को विवाद भइरहेका बेला काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले गृह मन्त्रालय दिने विषयमा एमालेसँग कुनै सहमति नभएको बताएका हुन् ।

‘म त वार्ता टोलीमा थिइन, नेताहरुसँग बुझेअनुसार सहमति भएको होइन’, बडुले काठमाण्डु टुडेसँग भने, ‘हुँदै नभएको सहमतिमा विवाद गर्नुको तुक छैन ।’

एमालेले भने सात बुँदे सहमतिअघि काँग्रेस नेतृत्वको सरकारमा उपप्रधानसहित गृह र अर्थ मन्त्रामन्त्रालय लिएर सरकारमा सहभागी हुने समझदारी भएको दावी गर्दै आएको छ ।

बडुले भने एमालेले गृह मन्त्रालयमा दाबी गरेको भए पनि आपसी सहमतिमा टुंगो लगाउने समझदारी भएको जानकारी दिए । काँग्रेसभित्र समेत गृह मन्त्रालय एमालेलाई दिन नहुनेमा पार्टी सभापति समेत रहेका नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालामाथि दबाब परेको छ ।

एमाले भने पूर्वसहमतिअनुसार गृह मन्त्रालय नपाए सरकारमा नजाने अडानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us