बालिका बलत्कार गर्ने पूर्व सभासदलाई ७ वर्ष कैद

काठमाण्डु टुडे २०७० माघ २६ गते ९:०९ मा प्रकाशित

safikपोखरा, २६ माघ– जिल्ला अदालत कास्कीले बालिकालाई यौन शोषण गरेको आरोपमा पूर्व सभासद सफिक मियाँलाई सात वर्ष कैद र रु दुई लाख जरिवाना गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश रामप्रसाद ओलीको इजलासले घरमा काम गर्न राखेकी १४ वर्षीया बालिकामाथि यौन शोषण गरेको आरोपमा मियाँलाई उक्त सजाय सुनाएको हो ।

एकीकृत नेकपा–माओवादीबाट अघिल्लो संविधानसभामा समानुपातिकबाट सभासद बनेका मियाँविरुद्ध गत वर्षको मंसिरमा यौन शोषणको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

पीडित बालिकाकी आमाले छोरीमाथि भएको दुव्र्यवहारबारे थाहा भएपछि गत कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा मियाँविरुद्ध जाहेरी दिएकी थिइन् । घरमा काम गर्न भनेर ल्याएकी बालिकालाई पतिले यौन शोषण गरेको उनकी पत्नी जुबेदा खाँ मियाँले समेत बताएकी थिइन् ।

प्रहरीले १४ वर्षीया बालिकालाई गत वर्ष कात्तिक १७ गते अभियुक्त मियाँकै डेराबाट उद्धार गरेलगत्तै स्वास्थ्य परीक्षण गराइएको र त्यसबाट नियमित यौन सम्पर्क हुने गरेको पुष्टि भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us