
वीरगन्ज, २३ माघ– वीरगन्ज भन्सार नाकाबाट यस वर्ष चकलेटको आयातमा उल्लेखनीय वृद्धि भएको छ ।
बजारमा चकलेटको मागमा आएको वृद्धिसँगै यसको आयातमा समेत उल्लेखनीय वृद्धि भएको हो । गत आवको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगन्ज भन्सार नाकाबाट चकलेटको आयातमा २७ प्रतिशतले वृद्धि भएको हो ।
कार्यालयका अनुसार, चालु आवको पहिलो छ महिनामा ९९ करोड १२ लाख ६२ हजार मूल्य बराबरको ३० लाख ४९ हजार ५ सय २० किलोग्राम चकलेट आयात भएको छ । गत आवको सोही अवधिमा ६५ करोड १० लाख ६० हजार मूल्य बराबरको २४ लाख दुई हजार ३ सय ५४ किलोग्राम चकलेट आयात भएको थियो ।
चालु आवको पहिलो छ महिनामा चकलेटको आयातबाट कार्यालयले ४४ करोड ३८ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । यो, गत वर्षको सोही अवधिको तुलनामा १४ करोड ३१ लाख ७० हजार बढी हो । गत वर्षको पहिलो छ महिनामा कार्यालयले चकलेट आयातबाट ३० करोड छ लाख ८२ हजार राजस्व असुली गरेको कार्यालयले जनाएको छ ।
वीरगन्ज भन्सार कार्यालयबाट भारत तथा तेस्रो मुलुकबाट आयात हुने प्रमुख २० वस्तुको सुचीमा चकलेट ११ औँ स्थानमा रहेकोसमेत कार्यालयले जनाएको छ । रासस