गोरखामा स्याउखेती

काठमाण्डु टुडे २०७० माघ २३ गते १०:५८ मा प्रकाशित

Apple plantगोरखा, २३ माघ– गोरखाको उत्तरी सिर्दीवास, सामागाउँ, ल्हो, बिही, प्रोक, चुम्चेत र छेकम्पार गाविसका ६० रोपनी क्षेत्रफलमा व्यावसायिक स्याउखेती सुरु गरिएको छ ।

जुम्लाबाट ल्याइएको तीन हजार बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

गोरखा सदरमुकामबाट मनास्लु संरक्षण क्षेत्र आयोजनाले सम्बन्धित स्थानसम्म बिरुवा ढुवानीमा सहयोग गरेको छ । सदरमुकामबाट उत्तरी गोरखाका यी क्षेत्रमा पुग्न पाँच दिन लाग्दछ ।

किसानलाई गोरखामा ल्याएर २५ रुपैयाँमा बिरुवा प्रदान गरेको कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले बताए ।

उक्त क्षेत्रमा केही मात्रामा नासपातीका बिरुवासमेत वितरण गरिएको छ । यहाँको उत्पादनले गोरखा बजारको माग पूरा गर्न सक्ने भए पनि ढुवानी समस्याका कारण बजार पाउन नसकेको कार्यालयले जनाएको छ ।

निकट भविष्यमा पुग्ने सडक यातायातको सुविधापछि यहाँको उत्पादन अधिक मूल्यमा बिक्री हुने किसान दिलबहादुर गुरुङ बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us